वसन्तु ऋतुको समय सुरु भएपछि यतिबेला वनपाखामा चराचुरुङ्गीको चहलपहल पनि बढेको छ । लेकाली वन क्षेत्रमा लालिगुराँस फूलेर राताम्य हुन थालेपछि पर्यटकीय सिजन सुरु भएको छ भने वनपाखा र जङ्गल क्षेत्रमा चराचुरुङ्गी तथा वन्यजन्तु जनावरहरु पनि देखिएका हुन् ।
हिमाली जिल्ला म्याग्दीमा पनि लेकाली क्षेत्रमा लालिगुराँस र बेँसीतिर सिमल फूलेपछि रौनक छाएको छ । यहाँ फोटो र भिडियोमा देखिएको दृश्य भने म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिलमा उडिरहेका गिद्ध र कौवाको हो । अहिले खासगरी बिहान र बेलुकाको समयमा लभ्लीहिल आसपासको क्षेत्रमा गिद्ध, कौवालगायत पंक्षीहरु उड्ने गरेका छन् । लभ्लीहिलको भ्रमणमा पुग्ने पर्यटकहरु तिनै उडिरहेका पंक्षीहरुलाई हेरेर रमाउने गर्दछन् ।

लामो समयपछि लभ्लीहिलको आकाशमा एकसाथ गिद्ध र कौवा नाचिरहेका छन् । वसन्त ऋतुको समय पालुवा पलाउने तथा चराचुरुङ्गीले गुँड बनाउने, अण्डा पार्ने र कोरल्ने तथा चल्ला उत्पादन गर्ने समय पनि हो । तर विगत केही समयदेखि यता वनजङ्गलमा जथाभावी डढेलो र आगलागी हुन थालेपछि वन्यजन्तु जनावर तथा चराचुरुङ्गीलाई समेत प्रत्यक्ष असर परिरहेको छ । जलवायु परिवर्तन, मानवीय कारणसहित विभिन्न गतिविधिबाट डढेलो जस्ता घटनाको कारणले पंक्षी र वन्यजन्तु जनावरहरु नासिँदै गएका छन् ।

पछिल्लो समय आन्तरिक पर्यटकहरुको मुख्य केन्द्र बनेको बेनी नगरपालिका २ खबरामा पर्ने पर्यटकीयस्थल लभ्लीहिल क्षेत्रमा पर्यटकीय सिजन सुरु भएपछि पर्यटकको समेत आवतजावत बढ्न थालेको छ । शनिवार तथा विदाको दिनमा लभ्लीहिलमा धेरै सङ्ख्यामा पर्यटकहरु आउने गरेको स्थानीयवासी बताउँछन् । लभ्लीहिलबाट बेनीबजार, कालीगण्डकी र म्याग्दी नदीको आकर्षक दृश्य देखिने हुँदा गर्मी छल्न समेत मानिसहरु जाने गर्दछन् ।













