जिल्लाको मंगला गाउँपालिका–२, कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा आएको छ । गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले इकाईको उद्घाटन गर्नुभएको छ ।

एक सय ३० घरपरिवारको बसोवास रहेको स्थानीयहरुले सामुदायिक स्वास्थ्य इकाइ स्थापनापछि सामान्य उपचारका लागि गाउँपालिकाको केन्द्र बावियाचौर,अर्मन स्वास्थ्य चौकीमा जानुपर्ने बाध्यता हटेको स्थानीय तेजराज पौडेलले बताउनुभयो । बृद्धा पौडेलले स्वास्थ्य संस्था स्थापना गरी समुदायको आवश्यकता पूरा गरेकोमा गाउँपालिकालाई धन्यवाद समेत दिनुभयो ।

तत्कालका लागि एकजना अनमी र एक जना अहेबका राखी सेवा विस्तार गरिएको वडा अध्यक्ष खाती क्षेत्रीको भनाई छ । सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा आएपछि गाउँका सबै नागरिकले सहजरुपमा सेवा पाउने विश्वास गाउँपालिका अध्यक्ष रोकाको छ । अध्यक्ष रोकाले समुदायमा स्थापना भएको इकाइलाई प्राथमिकतामा राखेर औषधी र उपकरणको कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो । उक्त सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा आएपछि स्थानीयबासीमा खुसीयाली छाएको छ ।
इकाई उद्घाटनमा गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी खत्री, वडा नं २ का अध्यक्ष धनबहादुर खाती, वडा नं ४ का अध्यक्ष लालबहादुर रोका,प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।









