म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा सञ्चालित नसर्ने रोगको स्क्रिनिङ शिविरबाट ४१ सयभन्दा बढी सर्वसाधारणहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । गएको माघ महिनामा सञ्चालित नसर्ने रोग सम्बन्धी स्क्रिनिङ कार्यक्रमबाट बेनी नगरपालिकामा कुल ४ हजार १ सय ५८ जनाले सेवा पाएका हुन् ।

विभिन्न १० वटा वडा रहेको बेनी नगरपालिकाको ५६ वटा समुदायमा नसर्ने रोग सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो । शिविरमा मुख्य गरी नसर्ने रोगहरुमा मधुमेह, उच्च रक्तचाप, मृगौला र शरिरमा तौल मापनको अनुपात बिएमआईको मापन गरिएको बेनी नगरपालिकाले जनाएको छ । शिविरमा ग्लुकोमिटरको माध्यमबाट रगतमा चिनीको मात्रा परीक्षण गरी मधुमेह भए नभएको पत्ता लगाइएको थियो ।

स्क्रिनिङ शिविरमा रक्तचापको मापन गरेर आवश्यक परामर्श तथा प्रेषण सेवा प्रदान गरिएको थियो भने मृगौलामा रोग पत्ता लगाउनका लागि युरिन डिपस्टिकको प्रयोगमार्फत पिसाबमा प्रोटिनको स्तर पहिचान गरी उपचार गरिएको बेनी नगरपालिकाको जनस्वास्थ्य अधिकृत बालकुमारी पुनले जानकारी दिनुभयो । यसैगरी मानव शरिरमा तौल र उचाइको आधारमा बिएमआई मापन गरी बिएमआई असामान्य देखिएमा स्वस्थ जीवनशैली सुधार्न तथा परामर्श सेवा उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

समुदायस्तरमा सञ्चालित नसर्ने रोग सम्बन्धी स्क्रिनिङ क्याम्प तथा जनचेतनामूलक कार्यक्रममा सेवा लिने सेवाग्राहीतर्फ पुरुषको तुलनामा महिलाहरु धेरै रहेका छन् । कुल परीक्षणमध्ये महिला २८ सय १५ र पुरुष १३ सय ४३ जना रहेको बेनी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख चन्दन सुवेदीको भनाइ छ । बेनी नगरपालिका १ नम्बर वडामा ३ सय ३४ जना, २ मा ३ सय ४२, ३ मा ५ सय २५, ४ मा ३ सय ९, ५ मा ४ सय ७२, ६ मा ४ सय ५२, ७ मा ५ सय ७९, ८ मा २ सय ७३, ९ मा ६ सय ४० र १० मा २ सय ३२ जना सेवाग्राहीहरु शिविरमा उपस्थित भएर स्वास्थ्य परीक्षण गनुका साथै उपचार तथा परामर्श सेवा लिएको उहाँले बताउनुभयो ।

नसर्ने रोगको शिविरमा निदान परामर्श सेवातर्फ उच्च रक्तचापका २६ प्रतिशत, मधुमेहका बिरामीहरु २५ प्रतिशत, मृगौला रोगका ८ र मोटोपना सम्बन्धी ७ प्रतिशत भेटिएका छन् । शिविरमा सेवा लिन आएका सेवाग्राहीहरु सबैलाई परामर्श सेवा दिइएको छ भने ३ सय ५७ जनालाई रिफर गरिएको थियो । नेपाल सरकारले गएको आर्थिक वर्ष २०८१/०८२ देखि हरेक वर्ष फागुन महिनामा देशैभर नसर्ने रोगको स्क्रिनिङ क्याम्प सञ्चालन गर्ने अभियान थालेकोमा यसवर्ष फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुने भएकाले स्थानीय तहले माघ महिनामै कार्यक्रम सञ्चालन गरिएको जनाएका छन् ।

बेनी नगरपालिकाले माघ १४ गतेदेखि फागुन १ गतेसम्म नसर्ने रोग सम्बन्धी शिविर तथा कार्यक्रम सञ्चालन गरेको थियो । उच्च रक्तचाप, मधुमेह, मृगौलालगायत नसर्ने रोगको समयमै पहिचान गरेर प्रारम्भिक चरणबाटै उपचार गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालनमा ल्याइएको छ । नेपालमा नसर्ने रोगको कारणले मानिसहरुमा बिरामी हुने र मृत्युदर बढ्दै गैरहेकाले त्यसलाई समयमै रोक्न रोगको पहिचान तथा स्वास्थ्य अवस्था पत्ता लगाएर मृत्युदर घटाउनको लागि स्क्रिनिङ शिविरको अवधारणा अगाडि सारिएको हो ।

म्याग्दीको बेनी नगरपालिकाले भने आर्थिक वर्ष ०७९/८० बाट हरेक महिनाको १५ गतेका दिन नगरपालिकाको सबै वडामा रहेका स्वास्थ्य संस्थाहरुमा नसर्ने रोगको स्क्रिनिङ क्याम्प सञ्चालन भैरहेको छ । त्यस्तै प्रत्येक महिनाको एकपटक ज्येष्ठनागरिक, दीर्घरोगी र शारिरीक रुपमा अशक्तहरुको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक परामर्श र औषधीहरु उपलब्ध गराउने गरिएको नगर प्रमुख सुरत केसीले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकता दिएको छ ।










