सुर्खेतमा कक्षा ११ मा अध्ययनरत छात्रा इनिशा वि.क.को बलात्कारपछि हत्या भएको घटनाप्रति विरोध जनाउँदै म्याग्दीका दलित अधिकारकर्मीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । संयुक्त राजनीतिक दलित संघर्ष समिति, म्याग्दीले बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै दोषीमाथि हदैसम्मको कारबाहीको माग गरेको हो ।
गत फागुन २३ गते बिहान ट्युसन पढ्न हिँडेकी वीरेन्द्रनगर–१ मा बस्ने इनिशा वि.क.को शव सोही दिन साँझ वीरेन्द्रनगर–४ स्थित सहिद पार्क नजिकैको जंगलमा फेला परेको थियो । संघर्ष समितिले उक्त घटनाको प्रकृति हेर्दा बलात्कारपछि योजनावद्ध हत्या गरिएको दाबी गर्दै देशभर दलित र महिलामाथि भइरहेका यस्ता जघन्य अपराधको घोर भत्र्सना गरेको छ ।

ज्ञापनपत्र बुझ्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले उक्त घटना अत्यन्तै दुःखद र निन्दनीय भएको बताउनुभयो । उहाँले नागरिकको सुरक्षा र न्यायको हक सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएको उल्लेख गर्नुभयो । “तपाईंहरूले बुझाउनुभएको यो ध्यानाकर्षण पत्रलाई म आजै गृह मन्त्रालयमा पठाउने छु ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा उभ्याउन र पीडित परिवारलाई न्याय दिलाउन मेरो तर्फबाट आवश्यक समन्वय र पहल हुने छ ।” संघर्ष समितिका अध्यक्ष पदम किसानद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा प्रहरी नियन्त्रणमा रहेका अनमोल गौली लगायत ४ जनामाथि कडा अनुसन्धान हुनुपर्ने माग गरिएको छ । “
यदि शक्ति र पहुँचको आधारमा अपराधीलाई उन्मुक्ति दिने प्रयास गरियो भने हामी देशभर सशक्त आन्दोलनमा उत्रिन बाध्य हुनेछौं,” अध्यक्ष किसानले बताउनुभयो । ज्ञापनपत्र बुझाउने कार्यक्रममा म्याग्दीका विभिन्न दलित अधिकारकर्मी, राजनीतिक दलका भ्रातृ संगठनका प्रतिनिधिको उपस्थिति रहेको थियो । उनीहरूले दलित समुदायमाथि शृंखलाबद्ध रूपमा भइरहेका हत्या र हिंसाका घटना रोक्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।–––









