---Advertisement---

कृषि खेतीमा ‘बाउको बिडो’ थाम्दै नारायण कार्की

On: March 18, 2026 10:08 PM
Follow Us:

हरिकृष्ण गौतम
म्याग्दीको बेनी नगरपालिका-२,लभ्लीहिलका यूवा नारायण कार्की सधैजसो खेतबारीमा भेटिनुहुन्छ। ४१ बर्षिय यूवा कार्कीले बुबा चन्द्रबहादुरले सुरू गरेको तरकारी खेतीमा गरिरहेको मेहनतले बर्षेनी उत्पादनसँगै आम्दानी समेत बढेको छ । आफ्ना साथीहरू बैदेशिक रोजगारी र जागिरमा ब्यस्त रहदाँ यूवा कृषक नारायणलाई तरकारी, फलफुल खेतीमा भ्याइनभ्याई छ ।

‘विहानदेखि बेलुकीसम्म खेतबारीमै समय वित्छ, बुबाले सुरु गर्नुभएको कृषिखेतीलाई नै मैले भविस्य देखेर मेहनत गरेको छ्ु’ कृषक कार्कीले बेनीअनलाइनलाई भन्नुभयो । आफ्ना साथीहरु विदेशमा राम्रो कमाइ गरेपनि कृषि खेतीले बैदेशिक रोजगारीमा जाने सोच बनाउनै नपाएको कार्कीको भनाई छ ।

‘पासपोर्ट पनि छैन,यहाँ दुःख छ भने विदेशमा गएपछि झन् कति दुःख होला भन्ने सम्झिएर घरमै माटोमा मेहनत गरिरहेको छु’ कृषक कार्कीले भन्नुभयो । पर्यटकीयस्थल लभ्लीहिल तथा आफ्नो कुल खेतबारी गरी १७ रोपनी जमिनमा मौसमी र बेमौसमी तरकारी, फलफुल खेती गरी उत्पादन गरी सदरमुकाम बेनीबजारमा लैजाने गरेकोे यूवा कृषक कार्कीको भनाई छ ।

तरकारी, फलफुलसँगै गाईभैसी र बाख्रापालन समेत रहेको छ । ४१ वर्षदेखिे गाउँमै बसेर तरकारी खेती गरिरहेका चन्द्रबहादुरलाई जागीरको समेत अफरलाई छोडेर छोरा नारायणले कृषिखेतीमा साथ दिएपछि तरकारी र फलफुल विक्री गरी वार्षिक ३० लाख आम्दानी हुने गरेको छ।

‘बुढेसकालको सहारा भनेको नै यही हो,छोराले कृषि खेतीलाई निरन्तरता दिने अवस्था आएपछि आनन्द महसुस भएको छ’ चन्द्रबहादुरले भन्नुभयो । उहाँले ’बाउको बिडो’ थाम्ने भन्ने उदाहारण नै छोरा बनेको भन्दै आफुँले छोडेपनि अब कृषि खेतीले परिवारका सदस्यलाई नछोड्ने बताउनुभयो ।

बाउको पेशामा छोराले साथ दिदाँ हुने सफलताको उदाहरण बनेकोमा आफुँलाई भाग्यमानी ठान्ने चन्द्रबहादुर म्याग्दीका अगुवा तथा गण्डकी प्रदेशकै तरकारी तथा फलफुल खेतीमा उत्कृष्ट कृषकको सम्मान समेत पाइसक्नुभएको छ ।

मल, बीउ, पानी र बजारको समस्या समाधान गर्दै कार्कीले दिनरात मेहनत गरेको नजिकबाट छोरालाई देखाउन सफल भएकाले अब नियमित उत्पादन र बजारीकरणको समस्या नभएको बताउनुहुन्छ ।

बारीमा साग, बन्दाकोबी, प्याज, लसुन, मुला, गाजर, धनियाँजस्ता तरकारीहरू लहलहै झुल्न थालेपछि उहाँको मेहनतले फल दिन थाल्यो । कार्कीले भने “४१ वर्षदेखि मैले गाउँमै बसेर तरकारी खेती गरिरहेको छु,यही तरकारी खेतीले मेरो जीवनमा हरियाली ल्याइदिएको छ ।

सुरुमा सामान्य खर्च चलाउन गरेको तरकारी खेतीबाट अहिले राम्रो आम्दानी लिँदै आएको छु ।” छोरालाई आफ्नो कृषिमा गरेको संघर्षे र अनुभव हस्तान्तरण गर्न सफल कृषक चन्द्रबहादुर प्रेरणाको स्रोत भएको वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । वडाध्यक्ष कार्की भन्नुहुन्छ्,‘परिश्रम गरेपछि नहुने भन्ने हुँदैनरैछ । कार्की दाइको मिहिनेतले माटोमा सुन फलाएको छ ।’ कार्कीको सफलतालाई देखेर यहाँका प्रायः सबैले धेरैथोरै तरकारी र फलफूल खेती गरेका छन् ।

कृषक कार्कीको सफलताले गाउँमा कृषि व्यवसायलाई प्रोत्साहन दिएको र स्थानीय अर्थतन्त्रलाई मजबुत बनाएको वडा अध्यक्ष कार्कीको भनाई छ । जिल्ला कृषि विकास कार्यालय म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले गण्डकी प्रदेशका उत्कृष्ट कृषक कार्कीको मेहनत धेरैका लागि प्रेरणाको स्रोत हुने बताउनुभयो ।

कार्यालय प्रमुख बास्तोलाले भन्नुभयो,‘चन्द्रबहादुर कार्की दाइको सफलता उहाँको व्यक्तिगत सफलता मात्र होइन, सामुदायिक समृद्धिको पनि कथा हो । गर्न सक्ने हो भने विदेश जानु पर्दैन, गाउँमै सुन फल्छ। गाउँको भविष्यलाई उज्यालो बनाउने गतिलो सन्देश चन्द्र दाइले दिनुभएको छ ।’

Leave a Comment