---Advertisement---

धौलागिरिको प्रतिविम्ब झल्काउने २१६ वर्ष पुरानो बूढोपोखरी

On: March 19, 2026 8:07 PM
Follow Us:

दुईसय वर्ष अगाडि राजा गिर्वाणयुद्ध विक्रम शाहले निर्माण गर्न लगाएको म्याग्दीको बेनी नगरपालिका वडा नं १ मा पर्ने रत्नेचौरको बूढो पोखरी पर्यटकको आकर्षण बनेको छ । वि सं १८६६ मा निर्माण भएको दुई सय १६ वर्ष पुरानो यो पोखरीको पुननिर्माण तथा सरसफाइ गरेर चिटिक्क बनाएपछि भाइरल गाउँको रुपमा चिनिएको रत्नेचौरमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि आकर्षक स्थल बनेको हो ।


कृषि,धार्मिक र पर्यापर्यटनको त्रीधाम समेत भनेर चिनिने रत्नेचौरमा बेनी–बागलुङ सडक खण्डको पश्चिम उत्तर खण्डमा अवस्थित बूढो पोखरी धौलागिरि क्षेत्रकै सबैभन्दा ठूलो मानवनिर्मित पोखरी हो । यस पोखरीमा संसारकै सातौं अग्लो (आठहजार, एकसय ६७ मिटर) धौलागिरि हिमालको प्रतिविम्व देखिनुका साथै जलहाँसको सुन्दर क्रिडा पनि देख्न सकिन्छ ।


स्थानीय भानु माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक एवम् रत्नेचौरको विकास र प्रचारप्रसारमा लागिपर्नुभएका युवा भरत खत्रीका अनुसार ऐतिहासिक बूढो पोखरीले रत्नेचौरको सौन्दर्यलाई उजागर गर्नुका साथै पर्यटकहरुको ध्यान खिच्न सफल भएको छ । “रत्नेचौर प्राकृतिक सुन्दरताले युक्त कृषि गाउँ हो ।

उत्तरतर्फ चाँदी झै टल्किने हिमाल,समथर फाँटमा झुलिरहने बाली,चिटिक्कको गाउँ, खेतको फाँटको विचमा लमतन्न परेको पक्की सडक,पारीपट्टी देखिने शालग्राम संग्रहालय र पञ्चकोट धाम,कालीगण्डकी नदी,म्याग्दी,बागलुङ,पर्वत र मुस्ताङका दर्जनौं गाउँहरुको दृश्यावलोकन यहाँबाट गर्न सकिने भएकोले पछिल्लो समय पयर्टकहरुको आकर्षण बढेको छ” खत्रीले भन्नुभयो ।

पश्चिमदेखि पूर्वतर्फ मोहोडा गरेर लमतन्न फैलिएको विशाल र सुन्दर फाँटमा अवस्थित रत्नेचौरमा पछिल्लो समय राजनीतिक दलका नेता,चलचित्र छायाकंनका लागि नायक नायिका,गायक गायिकादेखि लिएर टाढाटाढाबाट समेत पर्यटकहरु आउन थालेपछि पर्यटकहरु रमाउने गज्जबको प्राकृतिक स्थल बूढोपोखरी बनेको स्थानीय विक्रम बोगटीले बताउनुभयो । “तोरीबारी र सडकका कारण देश विदेशमा समेत भाइरल बनेको रत्नेचौर गाउँमा पछिल्लो समय बूढोपोखरी र दुई जिल्ला जोड्ने (म्याग्दी–बागलुङ) झोलुङ्गे पुल पनि थपिएपछि गाउँको आकर्षण नै बढेको छ” बोगटीले भन्नुभयो । बूढोपोखरीमा जलहाँस पौडिरहेको दृश्य अत्यन्त आकर्षक देखिन्छ ।

विसं १८६६ सालमा राजा गिर्वाणयुद्धका मिरसुब्बा रहेका रत्नचौरका वसन्त बोगटीले राजाको इच्छा मुताविक यो पोखरी निर्माण गर्न लगाएको इतिहास रहेको छ । तत्कालीन समयमा रत्नेचौरमा पानीको हाहाकार भएपछि मानव बस्ती नै विस्थापित हुने अवस्था आएकाले ढोडेनीबाट पानी ल्याई यो पोखरी निर्माण गरिएको रत्नेचौरका स्थानीयवासी समेत रहनुभएका नेपाली कांग्रेस म्याग्दीका नेता नेत्रबहादुर महतले बताउनुभयो ।

उहाँका अनुसार रत्नेचौरमा पानीको अभाव भएको कुरा आफ्ना मिरसुब्बामार्फत राजा गिर्वाणयुद्धले थाहा पाएपछि राजाको इच्छाअनुसार नै पोखरी निर्माण गरी ढोडेनी खोलासम्म नहर खनी पानी ल्याइएको इतिहास छ । ठूलो सङ्ख्यामा जनशक्ति प्रयोग गरी पोखरी निर्माण गरेपछि रत्नेचौरमा खेतीपाती गर्न थालिएको थियो । पोखरी आसपास क्षेत्रमा बगैँचा विस्तार गर्न सात रोपनी जग्गा छ । अहिले सोही जग्गामा बगैँचालगायतका केही पूर्वाधार निर्माण गरिएको छ । यो पोखरीमा घाम लागेका बेलामा धवलागिरि हिमालको पूर्ण प्रतिविम्ब देखिने गर्छ ।

ध्रुवप्रसाद शर्मा

Leave a Comment