---Advertisement---

आज इद उल फित्र मनाइँदै

On: March 21, 2026 8:23 AM
Follow Us:

मुस्लिम धर्मावलम्बीहरूले विशेष हर्षोल्लासका साथ आज (शनिबार) इद उल-फित्र मनाउँदै छन् । मुस्लिम आयोगले बिहीबार साँझ शवाल महिनाको चन्द्रमा नदेखिएको पुष्टि गर्दै चैत ७ गते आज (शनिबार)का दिन इद पर्ने औपचारिक जानकारी दिएको हो । आयोगका कार्यबाहक अध्यक्ष महम्मदिन अलीका अनुसार बिहीबार नेपालमा चन्द्रमा नदेखिएकाले शनिबार इद मनाउने निर्णय गरिएको हो । आयोगले शनिबार नै इद परेकाले सरकारसमक्ष सार्वजनिक बिदाको प्रस्ताव नगर्ने जनाएको थियो । यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।

खाडी राष्ट्रहरूमा भने यस वर्ष इद शुक्रबार नै मनाइएको छ । साउदी अरबको सर्वोच्च अदालतले बुधबार चन्द्रमा नदेखिएको घोषणा गर्दै ३० दिनको रोजा पूरा भएपछि शुक्रबार बिहान इदको नमाज अदा गरिने जनाएको थियो । दुबई, कतार, टर्की, बहराइन र कुवेत लगायतका देशहरूमा पनि शुक्रबार नै इद मनाइएको छ । इस्लामिक पात्रो चन्द्रमासमा आधारित हुने भएकाले चन्द्रमा देखिएको आधारमा नयाँ महिना सुरु हुन्छ । यही कारण विश्वभर इद एकैदिन नपरी एक-दुई दिन फरक पर्ने गरेको हो ।

इद उल फित्र मुस्लिमहरूको सबैभन्दा ठूलो चाड हो, जुन रमजान महिना पूरा भएपछि मनाइन्छ । उपवास इद उल फित्रसँगै समाप्त हुन्छ । इस्लामिक क्यालेण्डरका अनुसार रमजानपछि शवालको पहिलो दिन इद उल फित्र मनाइन्छ । यो बिहान प्रार्थनासँगै सुरु हुन्छ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ ।

दान दिनु, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन् । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन । यस पर्वमा बिर्यानी, पुलाउ, सेबई, दुग्ध, मासुका परिकार, फलफूल खाने प्रचलन छ ।

Leave a Comment