नेपाल बैंकर्स संघ म्याग्दीले ग्लोबल मनी विकको अवसरमा बेनी नगरपालिका–९, तोरीपानीस्थित गलेश्वर माविमा विद्यार्थीलक्षित वित्तीय साक्षरताका कार्यक्रमहरू आयोजना गरेको छ । म्याग्दीमा रहेका बैंक तथा वित्तिय संस्थाहरू छाता संस्था संघले साक्षरता कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनका साथै म्याग्दीमा गरिरहेका विभिन्न कार्यक्रमका बारेमा जानकारी गराइएको थियो ।

संघका अध्यक्ष नारायण सापकोटाले पछिल्लो समय नेपाली समाजमा देखिएको जीवनशैली परिवर्तनले खर्च गर्ने प्रवृत्तिलाई तीव्र बनाएको अवस्थामा विद्यार्थीमार्फत समुदायमा “कमाउनेभन्दा खर्च गर्ने” संस्कारलाई न्यूनिकरणका लागि समेत कार्यक्रम गरिएको बताउनुभयो ।

बढ्दो डिजिटल बजारका कारण अभिावकलाई दबाबमा राखेर अनलाइन किनमेल र विलासी वस्तुको सहज पहुँचका कारण बचत गर्ने बानी कमजोर बन्दै गएको अवस्थामा बैंर्कस संघले विद्यालयमा आयोजित कार्यक्रम निकै फलदायी भएको विद्यालयका प्रधानध्यापक हरिप्रसाद सुबेदीले बताउनुभयो ।

विद्यालयमा नियमित वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गर्न सकिएमा सानै उमेरदेखि पैसाको मूल्य, बचतको महत्व, खर्च व्यवस्थापनमा समेत सघाउने भएकाले बैंक तथा वित्तिय संस्थासँग सहकार्यका लागि तयार रहेको बताउनुभयो ।

कार्यक्रममा संघका अध्यक्ष सापकोटाको अध्यक्ष, उपाध्यक्ष ओमप्रकाश पौडेल र सञ्चालन सचिव आषिस पौडेलले गर्नुभएको थियो । सोही अवसरमा विद्यालयलाई संघको तर्फबाट १० वटा भित्ते घडी समेत वितरण गरिएको थियो । यस वर्ष स्मार्ट मनी टक्स् भन्ने नारासहित सञ्चालन भइरहेको अभियानमा संघ तथा वित्तिय संस्थाले आफ्नो तालिका अनुसार सञ्चालन गरिरहेका छन् । संघले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामग्रीहरू सामाजिक सञ्जालहरू तथा ग्राहकलाई समेत दैनिक रुपमा उपलब्ध गराउने गरेको छ । हरिकृष्ण गौतम












