म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरधाम आमा समूहको अध्यक्षमा फुलकुमारी रोका पुनः दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न समूहको १५औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनले रोकाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा विन्दु कार्की पुर्जा, सचिवमा निशा जिसी महत, सह–सचिवमा नविना कार्की र कोषाध्यक्षमा मनु फगामी चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा पुष्पा साप्कोटा, मनिता पुन, नौकुमारी पाईजा, चाहाना खत्री, देवी पाईजा, दिलकुमारी घिमिरे पुरी, जविना सुबेदी र हिराकुमारी सेन्चुरी चयन भएका छन् । सल्लाहकारमा कुमारी रोका, रविना भण्डारी र कुमारी पुन रहनुभएको समुहकी सचिव निशा जिसी महतले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै संस्थापक अध्यक्ष जमुना तिलिजाले महिलाको सक्रिय सहभागिता विना समाजको दिगो विकास सम्भव नहुने बताउनुभयो । उहाँले महिला समूहहरूले स्थानीय तहमा आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा पु¥याएको योगदान उल्लेखनीय रहेको भन्दै यस्ता संस्थाहरूको सशक्त भूमिकालाई अझ विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष फुलकुमारी रोकाले आफ्नो आगामी कार्यकालमा समूहलाई अझ सक्रिय, व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले गलेश्वरधामको धार्मिक तथा पर्यटकीय सम्भावनालाई उजागर गर्दै स्थानीय समुदायको आयआर्जन, सीप विकास तथा सामाजिक सचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखिने बताउनुभयो । साथै, महिला सशक्तीकरणलाई केन्द्रमा राखेर विभिन्न रचनात्मक गतिविधिहरू सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुन, स्थानीय समाजसेवी बालकुमार लामिछाने तथा समूहकी सदस्य देवी पाईजालगायत वक्ताहरूले समूहले गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी र उदाहरणीय काम गर्न सुझाव दिएका थिए ।
कार्यक्रम समूहकी अध्यक्ष फुलकुमारी रोकाको अध्यक्षता, उपाध्यक्ष विन्दु कार्की पुर्जाको स्वागत मन्तव्य तथा सचिव निशा जिसी महतको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा कोषाध्यक्ष मनु फगामीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा स्थानीय आमा–दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।








