म्याग्दीको बेनी नगरपालिका–४, राक्सेकी गिता शर्मा बानियाँ तीन दिनदेखि बेपत्ता हुनुभएको छ । चैत्र ५ गते दिउँसो २ बजे घरबाट केही जानकारी नगराई एक्कासी सम्पर्कविहिन बानियाँको हालसम्म अत्तोपत्तो छैन् ।
बेपत्ता बानियाँको खोजीकार्यका लागि ससुरा थमबहादुर बानियाँले बेपत्ता बुहारीको खोजीकार्यका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि खोजीकार्यको क्रममा सदरमुकाम बेनीबजारको बिरेन्द्रचोकको सिसी क्यामेरामा दिउँसो ३ बजे आसपासमा देखिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले बताउनुभयो ।
‘हामीले सबैतिर खोजीकार्यका लागि हुलिया पठाएका छौ, कतै देखेमा सम्पर्क गरिदिनुहोला’प्रहरी निरीक्षक तिमिल्निसाले बेनीअनलाइनलाई भन्नुभयो । बेनीबजारमा देखिएको हुलियालाई नै गण्डकी प्रदेश खोजतलास तथा समन्वय डेक्स, पर्वत, बागलुङ र मुस्ताङ प्रहरीलाई समेत जानकारी गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मानसिक सन्तुलन कमजोर रहेको बानियाँलाई देखेमा नजिकैको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय म्याग्दीमा खवर गर्न अनुरोध गरिएको छ । घर तथा माइती पक्ष सहित विभिन्न ठाउँमा रहेका आफन्तहरुलाई समेत जानकारी गराउनुभएको छ ।








