नेपाल बैंक लिमिटेड बेनी शाखाले ग्लोबल मनी विकको अवसरमा म्याग्दी बहुमुखी क्याम्पस शिक्षा शास्त्र संकायमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । आइतबार बिएड प्रथम र द्धितिय बर्षमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी आयोजित कार्यक्रममा बचतको महत्व, आम्दानी र खर्च व्यवस्थापन, सुरक्षित लगानीका उपाय, विद्युतीय बैंकिङ कारोबार तथा बैंक खाता सञ्चालनसम्बन्धी आधारभूत ज्ञानका बारेमा बैंकका सहायक प्रबन्धक बिकाश आचार्यले सहजीकरण गर्नुभएको थियो ।
बैंकका शाखा प्रबन्धक बाबुराम खरेल, सहायक क्याम्पस प्रमुख पशुपति ढकाल, मानविकी विभागको विभागीय प्रमुख नारायण पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सानो उमेरदेखि नै आर्थिक अनुशासन र बचतको बानी बसाल्न सके भविष्यको आर्थिक स्थायित्वका लागि महत्वपूर्ण आधार तयार हुने बताइएको थियो ।

डिजिटल बैंकिङ सेवाको प्रयोग तथा महत्व, वित्तिय ठगी, अनलाइन कारोबार गर्दा अपनाउनुपर्ने सावधानी तथा बिमा, विद्यार्थीको बचतमा ध्यान दिनुपर्ने तथा लगानी गर्दा हुने जोखिम र लागतबारे प्रशिक्षण फलदायी रहेको कार्यक्रममा सहभागि विद्यार्थी दिपा बुढाथोकीको भनाई छ ।
ग्लोबल मनी सप्ताह विश्वभर बालबालिका र युवामा वित्तीय ज्ञान र सीप विकास गराउने उद्देश्यले प्रत्येक वर्ष मनाइने अन्तर्राष्ट्रिय अभियान भएकाले यसमार्फत क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई वित्तिय जानकारी हुने भएकाले सबै संकायका विद्यार्थीैलाई पहुँच हुने गरी कार्यक्रममा समय ब्यवस्थापन गरिएको क्याम्पस प्रमुख श्रीधर सुबेदीको भनाई छ ।








