हरिकृष्ण गौतम
जिल्लाको धवलागिरी गाउँपालिकामा एक महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। गत महिना फागुन २६ गते राती १ बजे आफ्नै घरमा सुतिरहेको अवस्थामा ४९ बर्षिया एक महिलालाई सोही स्थानका ४२ वर्षीय प्रेमबहादुर दमैले कोठाभित्र प्रवेश गरी जबरजस्ती करणीको प्रयास गरेका थिए ।
जवरजस्ती गरेपछि पीडित महिला चिच्चाएर बुहारीलाई बोलाएपछि अभियुक्त भागेका थिए । पीडित महिलाका अनुसार अभियुक्तले दुई बर्ष अगाडी राती १२ बजे जवरजस्ती करणीको प्रयास गर्दा हतियार देखाएर प्रतिकार गरेकी थिइन् । धवलागिरी गाउँपालिकाका एम्बुलेन्स चालक रहेका दमै पीडितको घरबाट निस्किएपछि गाउँपालिकाको केन्द्र मुनामा रहेको आफ्नै कोठामा गएर सुतेका थिए ।
पीडित महिलाका आफन्तले प्रहरीलाई खवर गरेपछि विहान खोज्दै जाँदा अभियुक्त कोठामा सुतिरहेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
पीडित महिलाले गुहार मागेपछि तत्कालै समातेर प्रहरीको जिम्मा लगाउने प्रयास सफल नभएको पीडितका आफन्तको भनाई छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी सागर तिमिल्सिनाका अनुसार गाउँपालिकाबाट एम्बुलेन्समा बिरामी लिएर पोखरा पुगेर फर्किएका अभियुक्तले बाटोमा समेत मादक पर्दाथ सेवन गरेका थिए ।
पक्राउ परेका दमैलाई जवरजस्ती करणी मुद्धामा अनुसन्धानका लागि म्याग्दी जिल्ला अदालतबाट म्याद थप गरिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेकाले पीडितको गोपनीयता कायम राख्दै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ । बलात्कार घटनालाई आर्थिक प्रलोभनमा मिलाउन दबाबलाई पीडित परिवारले अस्वीकार गरेका थिए ।










