म्याग्दीको बेनी-दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र बनेपछि म्याग्दीका प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले ठेकेदारलाई तत्काल काम सुरू गर्न लिखित सहमति गराउनुभएको छ । पटक–पटक ठेक्का अलपत्र पारेर सम्पर्कविहिन हुने निर्माण ब्यवसायीका प्रतिनिधि सोमबहादुर थकालीलाई आगामै चैत्र १३ गतेसम्म निर्माणस्थलमा आवश्यक पर्ने उपकरण सहित मजदुर परिचालन नगरे कानुनी प्रक्रिया अगाडी बढाउने चेतावनी दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफलमा प्रमुख जिल्ला अधिकारी आचार्य, पूर्वाधार विकास कार्यालय म्याग्दीका कार्यालय प्रमुख डा.महेन्द्रबहादुर बानियाँ,सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्य, निर्माण व्यवसायीका प्रतिनिधि थकाली तथा सम्बन्धित कार्यालयका अन्य अधिकारीहरूको उपस्थिति दैनिक कार्य प्रगति विवरण पूर्वाधार विकास कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालयमा अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
छलफलमा कालोपत्रे गर्न बाँकी रहेको सडक खण्डमा पहिले सव–बेस र बेस तहको काम सम्पन्न गर्नुपर्ने र उक्त कार्य सम्पन्न भएपछि नापजाँच गरी पूर्वाधार विकास कार्यालयले भुक्तानी उपलब्ध गराउने निर्णय समेत गरिएको प्रजिअ आचार्यले बेनीअनलmाइनलाई बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयले उक्त सडक आयोजनालाई ‘रुग्ण योजना’को रूपमा लिँदै अब ढिलाइ नगरी कार्य अघि बढाउन निर्माण पक्षलाई स्पष्ट निर्देशन दिएको प्रजिअ आचार्यको भनाई छ । बेनी–दरवाङ सडकको मङ्गला गाउँपालिका–२ रणवाङदेखि मालिकाको केन्द्र दरवाङ जोड्ने आठ किलोमिटर सडक स्तरोन्नति दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित ६ वर्षअघि आयोजना सुरु भएको थियो ।
विसं २०७६ जेठ ३१ गते निर्माण कम्पनी बिरुवा–क्याराभान र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको थियो । विसं २०७८ जेठमा सकिनुपर्ने योजनाको हालसम्म भौतिक प्रगति ८७ प्रतिशत रहेको कार्यालयले जनाएको छ।
रणवाङ–तोलावाङ खण्डमा गत वर्ष तीन किलोमिटर ३०० मिटर दूरीमा डिबिएसडी प्रविधिको कालोपत्र भएको थियो । ढाडखर्क, दरबाङ बजारमा पर्खाल, नाली तयार पार्ने कार्य अन्तिम चरणममा रहेकोमा असार महिनायता सडक निर्माणको काम भएको छैन । यही चैत महिनासम्म ठेक्काको म्याद रहेको योजनाका ठेकेदारलाई काममा फर्कन लिखित र मौखिक रूपमा पटक–पटक ताकेता गरिएपछि निर्माणमा ढिलाइ भएको छ ।
निर्माण कम्पनी बिरुवा–क्याराभानले विभिन्न बाहना बनाएर भाग्ने प्रयास गरेको स्थानीयबासीको गुनासो छ । गत आर्थिक वर्षमा रु एक करोड ५० लाख विनियोजन भएको यस योजनाका लागि प्रदेश सरकारले थप एक करोड ५० लाख रकमान्तर गरेर भुक्तानी गरेको थियो ।
चालु आर्थिक वर्षमा दुई करोड ५० लाख विनियोजन भएको छ । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किमी दूरीको बेनी–दरवाङ सडक विसं २०६३ मा मार्ग खुलेको थियो । बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प भएकाले यसलाई रणनीति महत्त्वका रूपमा मानिएको हो ।









