---Advertisement---

निषेधित क्षेत्रमा एकल पदयात्रा गर्दा ट्रेकिङ गाइड अनिवार्य

On: March 23, 2026 3:49 PM
Follow Us:

 अध्यागमन विभागले निषेधित क्षेत्रमा पदयात्रा गर्दा पालन गर्नुपर्ने नियममा केही हेरफेर गरेको छ । विभागले एक पदयात्रीलाई समेत अनुमति प्रदान गर्ने गरी आइतबार (चैत ८) निर्णय गरेको हो ।

“यसरी पदयात्रा गर्दा अनिवार्य रूपमा एजेन्सीमार्फत आवेदन पेस गर्नुपर्ने, निजसँग जाने ट्रेकिङ गाइड अनिवार्य रूपमा तोक्नुपर्ने, आपत्कालीन अवस्थामा उद्धार (रेस्क्यु)को सम्पूर्ण जिम्मेवारी सम्बन्धित एजेन्सीले लिने र अन्य व्यवस्था विद्यमान कानुनबमोजिम हुने गरी सर्त निर्धारण गरिएको छ,” विभागले जारी गरेको सूचनामा भनिएको छ ।

विदेशी नागरिकले नेपालका १३ जिल्लाका तोकिएबमोजिमका निषेधित क्षेत्रमा पदयात्रा गर्दा अध्यागमन विभागबाट अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था छ । 

निषेधित क्षेत्रमा समूहगत रूपमा एजेन्सीमार्फत जाने विदेशीको पदयात्रा अनुमति जारी गर्नेसम्बन्धी सेवालाई अनलाइन प्रणालीको अवलम्बन गरी झन्झटरहित, छिटोछरितो र सेवाग्राहीमैत्री बनाइएको विभागले जनाएको छ ।

विगतमा निषेधित क्षेत्रमा पदयात्रा अनुमति माग गर्ने एकल पदयात्रीलाई अनुमति थिएन । साझेदार खोज्नुपर्ने व्यवस्था थियो ।

एकल पदयात्रीलाई अनुमति जारी नहुँदा पर्यटन प्रवर्द्धनमा समेत असर परेको भनेर ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)लगायत संघसंस्थाबाट गुनासो प्राप्त भएको विभागले जनाएको छ ।

“एजेन्सीमार्फत एक समूहमा ठूलो संख्यामा पदयात्रीहरू निषेधित क्षेत्रमा पदयात्रामा जाँदा पदयात्रीको सुरक्षामा पर्याप्त ध्यान दिन सहज नहुने, एकजना ट्रेकिङ गाइडबाट पदयात्रीका गतिविधि निगरानीमा असहज हुनेलगायतको अवस्थालाई मध्यनजर गरी एक समूहमा एक ट्रेकिङ गाइडबराबर बढीमा सातजना पदयात्री रहने गरी समेत पदयात्रा अनुमति प्रदान गर्ने निर्णय भएको छ,” विभागले भनेको छ ।

विदेशीलाई भिसा आवेदन नम्बरका आधारमा समेत पदयात्राका निम्ति निवेदन दिन सकिने व्यवस्था मिलाइएको विभागले जनाएको छ । “यसबाट नेपालको पर्यटन प्रवर्द्धन, आन्तरिक रोजगारी सिर्जना, पदयात्रीको व्यक्तिगत सुरक्षा र पदयात्रा सहजीकरणमा सहयोग पुग्ने विभागले अपेक्षा गरेको छ,” सूचनामा उल्लेख छ ।

Leave a Comment