---Advertisement---

बेनी नगरपालिकाको भकिम्लीमा सार्वजनिक सुनुवाइ

On: March 23, 2026 10:24 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका वडा नं. ३ भकिम्लीमा आइतबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०८२÷०८३ को दोस्रो चौमासिक अवधिसम्म सम्पन्न भए गरेका विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी गतिविधिहरूको समीक्षासहित भकिम्लीको वडा कार्यालयमा सार्वजनिक सुनुवाइ गरिएको हो ।


‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार ः स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित चालु आवको दोस्रो चौमासिकसम्म सञ्चालित तथा सम्पादित गतिविधिका विषयमा बेनी नगरपालिका कार्यालयको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा, म्याग्दीको सहजीकरणमा सार्वजनिक सुनुवाइ गरिएको हो । स्थानीयवासीको गुनासो सुन्न, सुझाव र अपेक्षा सङ्कलन तथा समाधान गर्नका लागि कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ ।


कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले दोस्रो चौमासिकसम्मको कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए । उनले चालु योजनाहरू, ठेक्का सम्झौता भैसकेर पनि कार्यान्वयन हुन बाँकी रहेका योजना तथा ठेक्का प्रक्रियामा जान लागेका योजनाहरूको अवस्थाबारे पनि जानकारी गराएका थिए । दोस्रो चौमासिकसम्म बेनी नगरपालिकाले कुल बजेटको ३७ दशमलव ५६ प्रतिशत खर्च गरेको छ । चालु आवमा कुल ७३ करोड नौलाख ६२ हजार रुपैयाँ बजेट ल्याएकोमा २७ करोड ४५ लाख ९० हजार रुपैयाँ खर्च भैसकेको छ ।


यसैगरी चालुतर्फ ५३ करोड ८२ लाख ६० हजार बजेट रहेकोमा २४ करोड ३८ लाख ९३ हजार अर्थात् ४५ दशमलव ३१ प्रतिशत बजेट खर्च भएको छ । त्यस्तै १९ करोड २७ लाख दुईहजार रुपैयाँ पूँजीगत बजेट विनियोजन भएकोमा हालसम्म तीन करोड छ लाख ९६ हजार रुपैयाँ अर्थात् १५ दशमलव ९३ प्रतिशत बजेट मात्रै खर्च भएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिएका छन् ।


सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी स्थानीयवासीहरूले कृषि, सडक, पूर्वाधार, कृषिजन्य उत्पादनको बजार व्यवस्थापन, स्वास्थ्य तथा शिक्षा सम्बन्धी विभिन्न समस्या, जिज्ञासा राख्नुका साथै प्रश्नहरु सोधेका थिए । सहभागीले उठाएका प्रश्नहरूको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख प्रशासकीय अधिकृत शर्मा, विषयगत शाखा प्रमुख तथा वडाका जनप्रतिनिधिले जवाफ दिएका थिए ।


सार्वजनिक सुनुवाइ कार्यक्रमको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष प्रकाश पौडेल, जिल्ला शाखा म्याग्दीका निवर्तमान कार्यसमिति सदस्य तथा जलजला अनलाइन डटकमका सम्पादक कृष्णबहादुर जिसी र सञ्चारकर्मी बादल शाहीले सहजीकरण गरेका थिए । कार्यक्रममा बेनी नगरपालिका वडा नं. १ देखि १० सम्मका नागरिकका प्रश्न, जिज्ञासा र सुझावहरू भिडियोमार्फत प्रस्तुत गरी छलफल गरिएको थियो ।


कार्यक्रममा नगरपालिकाका सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य तथा सरोकारवालाको उपस्थिति रहेको थियो । कार्यक्रम नगर प्रमुख केसीको अध्यक्षता, वडा नं. ३ का वडाध्यक्ष पदम पुनको स्वागत र वरिष्ठ प्रशासकीय अधिकृत युवराज थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Comment