म्याग्दी जिल्लाका स्थानीय तहहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन र एक-अर्काका सफल अभ्यासहरू साटासाट गर्ने उद्देश्यले जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको कार्यालय, म्याग्दीको आयोजनामा ‘स्थानीय तहको कार्यसम्पादन, असल अभ्यास आदानप्रदान तथा स्थानीय तह संस्थागत क्षमता स्व-मूल्यांकन प्रणाली’ सम्बन्धी कार्यक्रम सोमबार सम्पन्न भएको हो ।

अन्तरक्रियामा जिल्लाका ६ वटै स्थानीयका, बेनी नगरपालिका र मालिक गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकारीहरूको लगाएत कर्मचारी सहभागिता थियो । कार्यक्रममा विशेष गरी स्थानीय तहले सम्पादन गरेका कामको गुणस्तर, सेवा प्रवाहमा पारदर्शिता र स्थानीय तह संस्थागत क्षमता स्व-मूल्यांकन प्रणालीमा देखिएका प्राविधिक तथा व्यावहारिक चुनौतीका विषयमा गहन छलफल भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीकी कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले स्थानीय सरकारले गरेका राम्रा कामहरू एउटा पालिकामा मात्र सीमित नभई जिल्लाभरि नै विस्तार गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रा स्थानीय तहहरूले धेरै नवीन र प्रशंसनीय कामहरू गरिरहेका छन्, तर ती अभ्यासहरू एउटा पालिकामा मात्र सीमित हुनु हुँदैन । एउटा पालिकाको सफल मोडेल अर्कोका लागि सिकाईको आधार बन्नुपर्छ ।”
कार्यवाहक प्रमुख खत्रीले स्थानीय तह संस्थागत क्षमता स्व-मूल्यांकन प्रणाली केवल अंक प्राप्त गर्ने माध्यम मात्र नभई आफ्नो कार्यसम्पादनको ऐना भएको बताउनुभयो । “हामीले यसलाई सुशासन र जनतालाई दिइने सेवाको गुणस्तर मापन गर्ने कडीका रूपमा लिनुपर्छ,” उहाँले थप्नुभयो, “जिल्ला समन्वय समितिले पालिकाहरूबीचको समन्वय र सहकार्यलाई थप बलियो बनाउन सधैं अभिभावकीय भूमिका निर्वाह गर्नेछ ।”
अन्तरक्रियाका क्रममा सहभागीहरूले स्थानीय तहमा कर्मचारी अभाव, कानुनी अस्पष्टता र भौगोलिक विकटताका बाबजुद पनि जनअपेक्षा अनुसार काम गर्ने प्रयास भइरहेको बताएका थिए । एक पालिकाले लागू गरेका सफल योजना वा सेवा प्रवाहको तरिकालाई अर्को पालिकाले पनि आफ्नो सन्दर्भमा परिमार्जन गरेर लागू गर्न सकिने निष्कर्ष कार्यक्रमले निकालेको छ । यस्ता कार्यक्रमले जिल्लाभित्रका पालिकाहरूबीच आपसी सद्भाव बढ्ने र कार्यसम्पादनमा प्रतिस्पर्धात्मक सुधार ल्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । शिव बोहोरा










