भनिन्छ, ‘पाप धुरीबाट कराउँछ । अपराध गर्न सजिलो हुन्छ तर लुकाउन गाह्रो हुन्छ’ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको गैयाभाट जंगलमा घाँस काट्दा लडेर मृत्यु भनिएको घटनाको झुटो काहनी एक महिनासम्म पनि टिक्न सकेन । रूखबाट लडेर मृत्यु भएको नाटक पोस्टमार्टम रिपोर्ट र प्रहरीको सबै प्राविधिक र परिस्थितिजन्य प्रमाणले पर्दाफास गरेको छ
अन्नपूर्ण–३ दानाका २४ वर्षीय सौरब विकको मृत्युको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाको स्थलगत अनुसन्धान तथा मेडिकल रिर्पोटले मृत्यु प्रकरणमा नयाँ तथ्य बाहिर मात्रै आएन हत्यामा संलग्नको समेत पहिचान भयो ।
गत फागुन महिनाको ७ गते साँझ साढे ७ बजे जंगलमा कुटपिटबाट गम्भीर घाईते भएका मृतक सौरबको घटना लुकाउन मृतक र अभियुक्तका आफन्तले रूखबाट लडेर मृत्यु भएको जाहेरीका आधारमा पोष्टमार्टम गरी अन्त्येष्टि गरिएपनि निर्वाचनपछि प्राप्त मेडिकल रिर्पोट र प्रहरीको अनुसन्धानबाट सुरुमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको भनिए पनि सो घटना हत्या भएको पुष्टि भएको हो ।
प्रहरीका अनुसार सौरबको हत्या उनकै साथी २२ वर्षीय प्रकाश विकले गरेका हुन् ।उनीहरु भेडाको उन काट्न र गोठ सार्न जंगल गएका थिए । त्यहाँ मादक पदार्थ सेवन गरेपछि उनीहरुबीच विवाद भएको थियो । विवादकै क्रममा अभियुक्त प्रकाशले पछाडिबाट दाउराले प्रहार गर्दा टाउकोमा चोट (हेड इन्जुरी) ले सौरबको ज्यान गएको अनुसन्धानबाट खुलेको घटनाको अनुसन्धान अधिकृत समेत रहेका पप्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।
‘यो घटनालाई गाउँमै लुकाउने प्रयास भएको थियो,घटनालाई विभिन्न तरिकाले तोडमोड गर्न खोजिएको थियो, दुर्घटना नभई योजनावद्ध हत्या देखिएपछि अनुसन्धान गर्दा अपराधीको पहिचान भयोे’ सूचना अधिकारी तिमिल्सिनाले भने ।

मृतकलाई गम्भीर घाईते अवस्थामा अभियुक्त प्रकाशले बोकेर घर हुदै प्रदेश अस्पताल बेनीमा हुदै थप उपचारका लागि पोखराको गण्डकी मेडिकल अस्पताल पोखरामा पु¥याएको देखिन्छ । प्रहरीले यो घटनामा आरोपीको बयान र प्रमाणका आधारमा अनुसन्धान अघि बढाएको छ । जंगलमा घटना हुँदा सो स्थानमा १२ र १३ वर्षका दुई बालक समेत रहेका थिए । उनीहरुको अगाडि नै प्रकाशले सौरबमाथि प्रहार गरेका थिए ।
मृतकका परिवार, घटनाका प्रत्यक्षदर्शी र अभियुक्तको बयानको आधारमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक सुर्य थापाले बताए । हत्यामा संलग्न प्रकाशमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ । यसका लागि आइतबार जिल्ला अदालत म्याग्दीबाट ७ दिनको म्याद थप गरिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले घटनाका थप पक्षबारे सुक्ष्म अध्ययन भइरहेको जनाएको छ ।
यस्तो थियो घटना
गत फागुन ७ गते घरदेखि करिब ९ किलोमिटर माथि गैयाभाट जंगलमा पुगेका सौरब र प्रकाशसँगै दुई बालक थिए । सुकमन भन्ने सौरव विक.जंगलमा घाँस काट्ने क्रममा रुखबाट खसेर घाईत भएको भन्दै सँगै रहेका अभियुक्त प्रकाशले बोकेर घरसम्म ल्याए । अचेत अवस्थामा रहेका सौरबलाई दाना स्वास्थ्यचौकी हुदै प्रदेश अस्पताल बेनीमा ल्याइएको थियो ।
बेनीमा उपचार सम्भव नभएपछि गण्डकी मेडिकल अस्पतालमा लगेपनि चिकित्सकले बाँच्ने सम्भावना कम भएको बताएपछि घर फिर्ता ल्याइएको थियो । घाईते अवस्थामा घरमा ल्याइएका सौरवलाई इलाका प्रहरी कार्यालय दानको सूचनाका आधारमा थप अनुसन्धानका लागि प्रहरी निरीक्षक तिमिल्सिनाको नेतृत्वमा अनुसन्धान टोली घरमै पुगेर घटनाको प्रकृती अनुसार पोष्टमार्टम गराउन परिवार समेतलाई परामर्श गरी लासजाँच मुचुल्का चैत्र ९ गते रुखबाट खसेर मृत्यू शिर्षकमा जाहेरी दरखास्त लिइएको थियो ।
अनुसन्धानको क्रममा खुलेको तथ्य
घटनाको सम्बन्धमा निर्वाचन पश्चात पोष्टमार्टम रिपोर्ट प्राप्त भई अध्ययन पश्चात टाउकोमा चोट लागेको देखिएपछि चैत्र ३ गते मृतकका भान्जा नाता पर्ने सोहन विक,प्रकाश विक. र सुभम् विकलाई सोधपुछ गर्ने क्रममा अभियुक्त प्रकाश र मृतक सौरव विच झैझगडा र कुटपिट भएको पुष्टि भएपछि अभियुक्तलाई हिरासतमा राखिएको थियो । जंगलमा मादकपदार्थ सेवन गरेपछि झगडा सुरू भएको थियो ।
घटनास्थलमा मृतक सौरवले रक्सीको सुरमा कुटपिट गर्ने गाली गर्ने गरेपश्चात प्रकाशलाई समेत पछाडीबाट लाईटले प्रहार गरेपश्चात दुवै बिचमा बिबाद सुरु भएको थियो । दुबै जनापछि हानाहान भएपछि अभियुक्त विकले दाउराले प्रहार गरेका थिए । कुटपिटपछि बेहोस भएको देखेर अत्तालिएका उनीहरुले आफुहरु फस्ने डरले घाँस काट्दा खसेर घाइते भएको बताएका थिए । मृतकका आफन्तले घटनामा प्रहरीले चासो नदेखाएको भए आफन्तलाई छुट दिने अवस्था आएको बताउँदै प्रहरीको सक्रियताले घटनाको पहिचान भएको बताए ।
बेनी साप्ताहिक पत्रिकाबाट साभार










