म्याग्दीमा एक वर्षको अवधिमै ३१ नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। चालु आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानीय तहमा गरिएको सम्पर्क परीक्षणका क्रममा ३१ जनामा नयाँ क्षयरोगका बिरामी फेला परेका हुन्। विश्व क्षयरोग दिवसका अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले मंगलबार सदरमुकाम बेनीमा आयोजना गरेको कार्यक्रममा विश्व स्वास्थ्य संगठनको लक्ष्य भन्दा निकै कम संख्यामा क्षयरोगी म्याग्दीमा पहिचान भएका छन् ।

प्रति एक लाख जनसंख्यामा २४५ जनामा क्षयरोगी पत्ता लाग्नु पर्नेमाम्याग्दीमा चालु आर्थिक वर्षमा निकै न्यून संख्या देखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । म्याग्दीमा चालु वर्षमा बेनी नगरपालिकामा १३ जना, अन्नपुर्ण गाउँपालिकामा ५ जना, मंगला गाउँपालिकामा ३ जना, मालिका गाउँपालिकामा ७ जना, रघुगंगा गाउँपालिकामा २ जना र धौलागिरी गाउँपालिकामा १ जना गरी कुल ३१ जना बिरामी पहिचान भएको हो ।

विश्व क्षयरोग दिवसको अवसरमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले म्याग्दीमा लक्ष्यभन्दा निकै कम मात्रै पहिचान भएको बताए । उनका अनुसार गण्डकी प्रदेशमा ११ जिल्लामा कुल एक हजार चार सय ५२ जनामा पुष्टि भएको छ । सबै भन्दा कम मुस्ताङमा १० जनामा क्षयरोग पुष्टि भएको छ भने सबै भन्दा बढी नवलपरासी सुस्ता पूर्वमा तीन सय ५९ जनामा पुष्टि भएको ठकुराठीको भनाई छ ।

म्याग्दीमा परीक्षणको दायरा बढाउन नसक्दा संक्रमितको वास्तविक संख्या पहिचानमा समस्या भइरहेको छ। म्याग्दीका स्थानीय तहले खकार जाँच शिविर, नियमित हुने स्वास्थ्य शिविरमा समेत क्षयरोगका बारेमा सचेतनामूलक अभियान सञ्चालन नगर्दा क्षयरोगको जोखिम बढेको बताइएको छ।क्षयरोगीलाई प्रत्यक्ष निगरानीमा औषधि सेवन गर्न लगाउने, तीनपटक परीक्षण गर्ने र संक्रमितको परिवारका सदस्यको पनि खकार परीक्षण कार्य म्याग्दीमा न्यून भएकाले समुदायस्तरमा क्षयरोगीको संख्या अत्यधिक हुन सक्ने बताइएको छ।
एकजना क्षयरोगीले २५ जनासम्मलाई श्वासप्रश्वासका माध्यमबाट रोग सार्ने प्रमुख ठकुराठीले बताए। ‘म्याग्दीमा क्षयरोगी पहिचानका लागि गर्नुपर्नेै धेरै काम गर्न सकिएको छैन, जनशक्ति र ल्याब अभावले समेत परीक्षण प्रभावित भइरहेको छ’, प्रमुख ठकुराठीले भने।
स्वास्थ्य कार्यालयमै खकार जाँच गर्ने प्रयोगशाला छैन भने बेनी अस्पतालबाहेक प्राथमिक उपचार केन्द्र दरबाङ र भुरुङ तातोपानी स्वास्थ्य चौकीमा खकार परीक्षण गर्ने ल्याब रहेको छ।

हल्का ज्वरो र पसिना आउनु, छाती दुख्नु र श्वास फेर्न गाह्रो हुनु, दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, तौल घट्नु, खान खान मन नलाग्नु, खकारमा रगत देखिएमा खकार जाँच गर्नुपर्छ।
रोगको पहिचानपछि नियमित औषधि सेवन गरेमा ९० प्रतिशतको उपचार सम्भव छ। नियमित औषधि खानुपर्नेमा बीचमा औषधि छाडेर पुनः बल्झिएर उपचारमा आउने गरेका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, स्वास्थ्य कार्यालयका मेडिकल टेक्नोलोजिष्ट एवम् फोकलपर्सन मिनराज न्यौपानेले सञ्चालन गरेका थिए ।











