म्याग्दीको बेनी नगरपालिका–९, तोरीपानीस्थित गलेश्वर माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत स्मृति सुवेदी शुक्रबार हातमा कपी–कलम मात्र होइन, ‘सर्वे उपकरण’ बोकेर यताउता गरिरहनुभएको थियो । केही विद्यार्थीहरु वालुवा र सिमेन्ट मिलाएर ‘मसला’ बनाउँदै थिए भने कोही फिता लिएर जग्गाको नापजाँच गरिरहेका थिए ।
‘एक पालिका, एक प्राविधिक विद्यालय’ को सरकारी नीतिअन्तर्गत यो विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फको सिभिल इन्जिनियरिङ विषयको पठनपाठन भइरहेको छ । दक्ष प्राविधिक जनशक्ति गाउँमै उत्पादन गर्ने लक्ष्यका साथ सुरु गरिएको यस कार्यक्रमबाट गाउँमा नै पढेर विद्यार्थीहरुको इन्जिनियर बन्ने सपना पूरा हुँदै गरेको गलेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि सुवेदीले बताउनुभयो ।
“गाउँमै प्राविधिक विषयको अध्ययन गर्न पाउँदा विद्यार्थीहरु निकै खुसी छन् । वसाइँसराइ र सहरकेन्द्रित मनोविज्ञानका कारण गाउँमा विद्यार्थी टिकाउनै मुस्किल परिरहेको अवस्थामा हाम्रो विद्यालयमा सिभिल इन्जिनियरिङ विषयको पठन पाठन सुरु भएपछि विद्यार्थीहविद्यार्थीहरूको पनि आकर्षण बढ्दै गइरहेको छ” प्रधानाध्यापक सुवेदीले भन्नुभयो । प्रधानाध्यापक सुवेदीका अनुसार अहिले ३५ जना विद्यार्थीहरुले सिभिज इन्जिनियरिङ पढिरहेका छन् ।
विद्यालयका निवर्तमान प्रधानाध्यापक गणेश बानियाँले परम्परागत शिक्षाभन्दा फरक तरिकाले यहाँका विद्यार्थीहरूले सडक, पुल, र भवन निर्माणका प्रारम्भिक डिजाइन र नापजाँचका सीपहरू कक्षाकोठामै सिकिरहेका बताउनुभयो । पूर्व प्रअ बानियाँका अनुसार कक्षा ९ देखि नै विद्यार्थीलाई इन्जिनियरिङका प्राविधिक विषयहरू पढाउन सुरु गरिन्छ, जसले गर्दा १२ कक्षा उत्तीर्ण गर्दासम्म उनीहरू बजारमा काम गर्न सक्ने वा उच्च शिक्षाका लागि पूर्ण रूपमा तयार भइसक्छन् । अहिले गलेश्वर माध्यमिक विद्यालय जिल्लाकै प्राविधिक शिक्षाको हब बन्दै गएको उहाँको भनाइ छ ।
“आफ्नै घरको खाना खाएर गाउँकै विद्यालयमा इन्जिनियरिङ पढ्ना पाउँदा निकै खुसी छौँ । पढाइ पनि राम्रो छ । शैद्धान्तिक र प्रयोगात्मक दुबै तरिकाले पढाइ हुन्छ । गाउँकै विद्यालयमा पढेर गाउँकै विकास निर्माणका लागि चाहिने दक्ष जनशक्ति (इन्जिनियर) बन्ने धोको छ” सिभिल इन्जिनियरिङका विद्यार्थी कल्याण सुवेदीले भन्नुभयो ।
बेनी नगरपालिकाले प्राविधिक शिक्षालाई समृद्धिको आधार मान्दै यस विद्यालयलाई विशेष प्राथमिकतामा राखेको छ । नगरपालिकाको समन्वय र सहयोगमा सञ्चालित यो कार्यक्रमले गर्दा न्यून आय भएका विद्यार्थीहरूलाई पनि महँगो शुल्क तिरेर सहर जानुपर्ने बाध्यता हटेको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले बताउनुभयो ।
“गाउँकै विद्यालयमा इन्जिनियरिङ पढ्न पाउनु हाम्रा लागि ठूलो अवसर हो,” विद्यालयमा अध्ययनरत एक विद्यार्थीले उत्साह व्यक्त गरे, “हामी यहाँ प्रयोगात्मक रूपमा धेरै कुरा सिकिरहेका छौँ” विद्यार्थी प्रदिप सुन्दासले भन्नुभयो ।
पछिल्लो समय नेपालमा प्राविधिक जनशक्तिको अभाव खड्किरहेका बेला तोरीपानीमा तयार हुँदै गरेका यी ‘जुनियर इन्जिनियर’ हरूले स्थानीय पूर्वाधार विकासमा ठूलो टेवा पु¥याउने विश्वास नगरप्रमुख केसीको छ । विद्यालय प्रशासनले प्रयोगात्मक कक्षाका लागि आवश्यक ल्याब र उपकरणहरूलाई अझ सुदृढ बनाउँदै लैजाने योजना बनाएको प्रधानाध्यापक सुवेदीले बताउनुभयो ।ध्रुवसागर शर्मा











