बेनी नगरपालिका–६ एकलेपिपलकी पुष्पा विश्वकर्माको आर्थिक संकलन गरी घर बन्यो। चरम गरिबी भए पनि घामपानी छेक्ने आफ्नै सानो घर होस् भन्ने विश्वकर्माको ठूलो चाहना पूरा भएको छ।
गरिबीका कारण घर बनाउने सपना टाढा हुँदै गइरहेको विश्वकर्माजस्तै पाखाथरका पूर्णबहादुर भण्डारी र डम्बरका दानबहादुर खत्रीलाई वडाध्यक्ष कृष्णसिंह बानियाँको पहलमा स्वदेश तथा विदेशमा रहेका सहयोगीहरूबाट संकलनले सम्भव भएको हो। यस वर्ष वडाभित्रका अति विपन्न थप ४ जनाको घर बनाउने योजना रहेको वडाध्यक्ष बानियाँले बताए।

‘सरकारी बजेट बाहेक पनि आर्थिक संकलन गरी विपन्नलाई घर बनाउन सघाएको छु, जीर्ण घर मर्मत पनि पहिलो प्राथमिकतामा छ’ वडाध्यक्ष बानियाँले भने।

अर्काको काम गर्दा र दुई छाक जुटाउन भौंतारिनुपर्ने बाध्यतामा रहेका वडावासीलाई विपन्न नागरिक आवास कार्यक्रममार्फत बेनी नगरपालिका सहित सरकारी निकायबाट ३८ वटा घर निर्माण गरिएको छ।

भूकम्प र प्राकृतिक विपत्तिका कारण क्षति भएका घरलाई पुनर्निर्माणमा समेत वडा कार्यालयबाट सहजीकरण गरी निर्माण गरिएका घरले स्थानीयलाई सहज भएको वडाध्यक्ष बानियाँको भनाइ छ।

‘मजदुरी गरेको पैसा खाना र लगाउनमै ठिक्क हुन्छ, माटोको घर पानी पर्दा चुहिने मात्रै होइन पानी पसेर बस्नसमेत नसकिने अवस्थामा चिटिक्कको घर बनेका छन्’ वडाध्यक्ष बानियाँले भने।

उनले वडाभित्र रहेका विपन्नलाई कपडा बैंकमार्फत नयाँ लुगा निःशुल्क उपलब्ध गराउने गरेको बताए। विपन्न परिवारको सुरक्षा र जीविकोपार्जनका लागि सारथी बन्ने प्रयासलाई आगामी दिनमा पनि निरन्तरता दिने वडाध्यक्ष बानियाँले बताए। जस्तापाता सहितको तीन कोठासम्मको घरमा बस्न पाउनु सपना जस्तै लाग्ने स्थानीयलाई जनप्रतिनिधिको पहलमा घर बनेपछि निकै सहज भएको छ।

बेनपा–६ राहुवडाका वृद्ध कमलपति सुवेदीले विपद्का कारण घर जीर्ण भएपछि स्थानीय जनप्रतिनिधिको पहलमा घर बनाएको बताए। ‘मेरो लागि यो ठूलो सहयोग हो, आफ्नै घरमा बसेर ढुक्कसँग मीठोमसिनो खान पाइएको छ’ वृद्ध सुवेदीले भने।

उनले विपद्मा परेका र गरिबीका कारण समस्या भोग्नेहरूलाई सुविधामा सरकारी निकायबाट प्राथमिकता दिनुपर्ने बताए। बेनी नगरपालिकाले पालिकाभित्र रहेका घरविहीन विपन्नको निवेदनका आधारमा घरबास नभएका व्यक्तिलाई सहयोग गर्ने गरेको छ भने नेपाल सरकारबाट प्राप्त हुने किस्तालाई समेत ताकेता गर्ने गरेकाले हालसम्म घर बनाएर किस्ता पाउन बाँकी रहेकालाई केही राहत समेत मिलेको छ।










