एक दशक लामो प्रतिक्षापछि म्याग्दीमा धमाधम आमाको नामबाट पहिलोपटक नागरिकता प्रदान गरेका छन् । बाबुको पहिचान नखुलेकाको अवस्थामा नागरिकताबाट बन्चित भएकालाई नागरिकता ऐन,२०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधनपछि नागरिकता विहिन अवस्थाको अन्त्य भएको छ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले जन्मदिने बुबाको पहिचानको अभावमा नागरिकता प्राप्त गर्न नसकेको अवस्थामा प्राप्त भएको आवेदनको छानबिन र आवश्यक प्रक्रिया पूरा गरी हालसम्म ६ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेको सहायक प्रजिअ कुलप्रसाद आचार्यले बताए । ‘प्रक्रिया पूरा भएर आएका सबैले नागरिकता पाउनुभएको छ, नागरिकताले खुसी फर्किएको छ, उच्च शिक्षा र रोजगारीका लागि बाटो खुलेको छ’ सहायक प्रजिअ आचार्यले भने ।
पुस महिनाको २९ गते मालिका गाउँपालिका–५,देविस्थानकी २२ वर्षीया सीमा पुनलाई प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले पहिलो वंशजका आधारमा नागरिकता प्रदान गरेका थिए । हालसम्म वंशजको आधारमा ४ जना र दुई जनालाई आमाको नामबाट अङ्गीकृत नेपाली नागरिकता प्रदान गरिएको छ ।

जसमा ४ जना महिला र २ जना पुरुष रहेका छन् । सदरमुकाम बेनी बजारमै जन्मिएर हुर्किए पनि नागरिकताविहीन हुँदा थुप्रै सपना अधुरा रहेका समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गरेको समाचारले निकै चर्चा पाएको थियो । लामो संघर्षपछि कानुनी प्रक्रियाअनुसार नागरिकता पाएको भन्दै परिवारले नेपाली परिचय र परिवारको भविस्य बनाउन सहयोग गर्नेलाई धन्यवाद दिएका थिए ।
नागरिकताका लागि समिरले ११ वर्ष र यास्मिनले आठ वर्षअघि प्रशासनदेखि गृह मन्त्रालयसम्म सबै प्रक्रिया पूरा गरेर आवेदन पेस गरेका थिए । नागरिकता नपाएका कारण पेसा, व्यवसाय गर्न र जागिर खान तथा वैदेशिक रोजगारीमा जानबाट वञ्चित हुनुपरेको आमाको नामबाट नागरिकता प्राप्त गरेकी पिंयका रकालले बताइन् । नागरिकता प्राप्त गरेपछि आफ्ना रोकिएका कार्यहरू अगाडी बढेको उनले बताइन् । ‘नागरिकताले अब मेरो परिचय खुलेको छ, आमाको नामबाट नागरिता पाउँदा निकै उत्साहित छु,’ रकालले भनिन् ।
छोरीको हातमा नागरिकता परेपछि श्रीमानले छोडेकोे भन्दै खुसीको आँसु खसाल्ने गरेको प्रमुख जिल्ला अधिकारी आर्चायले बताए । उनले संविधान तथा प्रचलित कानूनअनुसार नागरिकका हकअधिकार सुनिश्चित भएको बताए ।
जन्मदिने बुबाको परिचय नभएको अवस्थामा आमाको नामबाट नागरिकता लिन आवश्यक प्रक्रियाका बारेमा प्रशासनबाट निरन्तर सन्देश प्रवाह भइरहेको प्रजिअ आचार्यको भनाई छ । बाबुको पहिचान नखुलेकाको अवस्थामा म्याग्दीमा विगतका वर्षमा प्रष्ट कानूनी आधार नहुँदा नागरिकताबाट बन्चित भएकाहरुको आवेदन समेत आइरहेकाले आवश्यक प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।










