म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेले नेपाली नयाँ बर्ष २०८३ सालको उपलक्ष्यमा मोना शुभकामना (मोना शुभकामना) साँझ कार्यक्रमको आयोजना गरेको छ । बेलायतमा रहेका नेपालीलाई नयाँ बर्षको अवसरमा शुभकामना सहित सम्बन्धलाई थप बलियो बनाउने उदेश्यले आगामी अप्रिल २५ मा फर्नबरोमा भव्य रूपमा कार्यक्रम आयोजना गरिएको हो ।
यूकेमा बस्ने म्याग्देलीको साझा संस्था मोनाले आयोजना गरेको कार्यक्रमको तयारी तिब्र पारिएको वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक लालु पुन बताउनुभयो । नेपाली कला, संस्कृति र भेषभूषाको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस सांस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरूको विशेष उपस्थिति रहनेछ । कार्यक्रमको मुख्य आकर्षणको रूपमा गायक म्याग्दीमा जन्मिएका चर्चित कलाकार भ्वाइस अफ नेपाल सिजन ३ का टप ८ फाइनलिस्ट गोबिन पुन रहनुभएको छ ।
सोही अवसरमा म्याग्दीकी लोकप्रिय गायिका निरुता पुन र सरिष्मा रामजालीको समेत प्रस्तुति दिने मोना यूकेका अध्यक्ष पदम गर्बुजाले बताउनुभयो । फर्नबरोस्थित सामुएल कोडी स्पोट्र्स कलेजको हलमा आयोजना हुने यस कार्यक्रमले बेलायतमा रहेका नेपाली समुदायलाई एकै ठाउँमा जोड्ने विश्वास लिइएको छ । कार्यक्रमलाई व्यवस्थित र सभ्य रूपमा सम्पन्न सहित नेपाली मौलिक कलालाई झल्किने गरी सांस्कृतिक सचिव नुनु पाइजा मगरले बताउनुभयो । म्याग्दीको मौलिकता र नेपाली पहिचान झल्किने यस साँझका लागि टिकट बुकिङ समेत खुल्ला गरिएको आयोजकले जनाएको छ ।















