आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गर्दै उत्सवको रुपमा मनाउनेहरूको बीचमा सामाजिक एवम् मानवीय सेवामा सधैँ सक्रिय भूमिकामा रहनुभएका म्याग्दीका एक युवाले म्याग्दीको सदरमुकाम बेनीमा सुविधासम्पन्न भलिबल कभर्डहल निर्माण लागि एक परिवारले तीन लाख सहयोग गर्नुभएको छ ।
म्याग्दीको बेनी नगरपालिका–५, डडुवा घर भई हाल दक्षिण कोरियामा रहनुभएका मोना दक्षिण कोरियाका कार्यसमिति सदस्य एवम् खेलकुद संयोजक अजुर्न भण्डारीले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको हो ।

भलिबल खेलाडी समेत रहनुभएका भण्डारीले भलिबलको प्रशिक्षण तथा खेल कर्भड हलमा सञ्चालन गर्ने उद्देश्यले जिल्ला भलिबल संघ म्याग्दीको जग्गा खरिद र कभर्डहल निर्माणका लागि सञ्चालन गरेको अभियानमा सहयोग गर्नुभएको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।
म्याग्दीमा भलिबल प्रशिक्षणका लागि आवश्यक पर्ने पूर्वाधार नभएकाले जन्मदिनको अवसरमा उक्त सहयोग गरेको खेलाडी भण्डारीको भनाई छ । प्राप्त सहयोगले कर्भडहल बनाउने अभियानमा धेरै सहजता मिलेको बताउँदै मोना दक्षिण कोरियाले जस्तै विदेशमा रहेका म्याग्देली तथा भलिबल प्रेमीलाई अभियानमा साथ दिन अनुरोध गर्नुभएको छ । बेनी नगरपालिका–७ बौद्ध विहार नजिकै दुई रोपनी ८ आना क्षेत्रफलमा फैलिएको जग्गा एक करोड ४२ लाख ५० हजारमाजग्गा खरिद गर्ने योजना रहेको छ । पहिलो चरणमा जग्गा खरिद गरेपछि दोस्रो चरणमा कभर्डहल निर्माण सुरु गरिनेछ ।
कभर्डहलमा एक हजार जना दर्शक क्षमता भएको भलिबल कोर्ट, जिमहल, कपडा फेर्ने कोठा, अफिसियल बैठककक्ष,चमेनागृह, प्यारापिट, विद्युत्, ध्वनि उपकरण, एसी, शौचालय, सयनकक्ष, एलसिडी बोर्ड, भण्डारण, जेनेरेटर सहित अन्य इन्डोर खेल विधालाई समेत स्थान दिइने छ । कभर्डहल बनाउन चार वर्षमा कुल साढे ३ करोड लागत लाग्ने अनुमान गरिएको छ ।










