---Advertisement---

बागलुङमा नक्कली नोट बिगबिगीपछि म्याग्दीमा सतर्कता अपनाउन प्रजिअको अनुरोध

On: March 26, 2026 6:49 PM
Follow Us:

छिमेकी जिल्ला बागलुङमा एक हजारका नक्कली नोट फेला पर्न थालेपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । बागलुङ बजारमा धमाधम नक्कली नोट फेला परेपछि जिल्लास्थित बैंक तथा वित्तिय संस्था, भिडभाड हुने पसल तथा सर्वसाधारणलाई नक्कली नोटको पहिचानमा ध्यान दिन प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले अनुरोध गर्नुभएको छ।

बागलुङमा एउटै नम्बरको एक हजारका विभिन्न नोट फेला परेपछि म्याग्दीमा समेत गिरोह सक्रिय हुनसक्ने जोखिमलाई मध्यनजर गरी सतर्कताका लागि सूचना जारी गरिएको प्रजिअ आचार्यले बेनीअनलाइनलाई बताउनुभयो । बागलुङमा बैंङ्कमा रकम जम्मा गर्न ल्याएको एक हजारका नोटको गड्डी भित्र नक्कली नोट फेला परेको थियो ।


बागलुङमा रहेका नेपाल बैंक, प्रभु बैक, गरिमा विकास बैंक, एनएमबी बैंक र सिद्धार्थ बैक लगायतका बैंकमा एक हजार रुपियाँका एउटै नम्बरका नोट फेला परेपछि जिल्लाभित्र सर्वसाधारण समेत ठगिन सक्ने जोखिमलाई मध्यनजर गरी प्रहरीमार्फत समेत सूचना जारी गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले बताउनुभयो ।

नक्कली नोटमा कागजको गुणस्तर, राष्ट्रिय फुल, स्टिकर र सुरक्षात्मक चिन्ह फरक पाइएको र नम्बरनै एउटै पाइएको छ । भीडभाडको मौका छोपी नक्कली नोट आएको हुन सक्ने अनुमान गर्नुभयो । उहाँले नक्कली नोट बाक्लो हुँने र छिटो खुम्चने गरेको पाइएकाले सचेत रहेर अनुरोध गरिएको छ । जिल्लाभित्र नक्कली नोट भेटिएमा तत्काल सूचना दिन समेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

Leave a Comment