---Advertisement---

चट्याङबाट जोगिन के गर्ने ?

On: March 28, 2026 2:36 PM
Follow Us:

प्रिमनसुन अर्थात मनसुन अघिको अवस्था सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा चट्याङका घटना बढ्न थालेको छ। बिहान मौसम सफा भएपनि दिउँसोपछि बादल लागेर अपरान्हपछि चट्याङ पर्नु प्रिमनसुनको विशेषता भएको मौसमविद् बताउँछन्। 

‘बिहान मौसम सफा हुन्छ, अनि दिउँसो बादल लागेर साँझतिर मेभगर्जन र चट्याङ पर्नु प्रिमनसुनको विशेषता नै हो।,’ जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले भने, ‘अरु बेलामा चट्याङ नपर्ने नै होइन तर दिउँसो २-३ बजेपछि चट्याङ पर्न सुरु गर्छ।’  

चट्याङका कारण मानवीय तथा भौतिक क्षति हुनसक्ने भएकाले समयमै सावधानी अपनाउन जरुरी रहेको उनको भनाइ छ। 

उनका अनुसार चट्याङ अचानक पर्ने प्राकृतिक विपद् भएकाले यसबाट पूर्ण रूपमा बच्न नसकिने भए पनि उचित सावधानीले जोखिम न्यून गर्न सकिन्छ। विशेषगरी खुला स्थानमा रहेका व्यक्ति, खेतबारीमा काम गर्ने कृषक तथा यात्रा गरिरहेका सर्वसाधारण बढी जोखिममा रहने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ।

घरबाहिर हुँदा अपनाउनुपर्ने सावधानी

प्राधिकरणका अनुसार खुला आकाशमा बिजुली चम्कन थालेपछि तुरुन्त सुरक्षित स्थानमा आश्रय लिनु उपयुक्त हुन्छ। नजिकै घर नभए सुरक्षित ओत लाग्ने स्थान खोज्नुपर्छ र रूख वा बिजुलीका पोलमुनि उभिनुपर्छ। सवारी साधन उपलब्ध भए त्यसभित्र बस्नु तुलनात्मक रूपमा सुरक्षित मानिन्छ। 

यसैगरी, छाता नओढ्न, खेतबारीमा काम नगर्न, अग्ला वस्तु तथा एक्ला रूखबाट टाढा रहन आग्रह गरिएको छ। अत्यावश्यक अवस्थामा भुइँमा सुत्नुको सट्टा खुट्टा जोडेर कुर्कुच्चा उचाल्दै बस्न प्राधिकरणको सुझाव छ।  

घरभित्र हुँदा पनि जोखिम

घरभित्र बस्दा पनि सावधानी अपनाउन प्राधिकरणको अनुरोध छ। टेलिभिजन, कम्प्युटरजस्ता विद्युतीय उपकरण प्रयोग नगर्नु र सकेसम्म प्लगबाट छुट्याउनु उचित हुन्छ। तारयुक्त टेलिफोन प्रयोग नगर्न र धारायुक्त पानी प्रयोग गरेर नुहाउने, भाँडा माझ्ने जस्ता काम नगर्न भनिएको छ।

त्यस्तै, झ्याल, ढोका तथा धातुका संरचनाबाट टाढा रहन र घरका खुला भागमा नबस्नसमेत अनुरोध गरिएको छ।

सचेतना अभिवृद्धिमा जोड

प्राधिकरणले चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि अपरिहार्य रहेको औंल्याएको छ। विद्यालय, समुदाय र सञ्चार माध्यममार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकतामा प्राधिकरणले जाेड दिएकाे छ।

प्राधिकरणले सर्वसाधारणलाई मौसमसम्बन्धी सूचना नियमित रूपमा अवलोकन गर्न र जोखिमयुक्त अवस्थामा अनावश्यक बाहिर ननिस्कन आग्रह गरेको छ।

नेपालमा चट्याङ लागेर बर्सेनि करिब एक सय जनाको मृत्यु हुने गरेको सरकारी तथ्याङ्क छ ।  

प्राधिकरणका अनुसार गत चैतदेखि यसपालीको चैतसम्म एक वर्षको अवधिमा चट्याङ लागेर ५६ जनाको मृत्यु भएको छ भने २८८ जना घाइते भएका छन् । १ करोड ६० लाख बराबरको क्षति भएको छ । 

प्रिमनसुनमा धेरै चट्याङ पर्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्। 

Leave a Comment