बालेन सरकार गठनलगत्तै सम्पत्ति शुद्धीकरण विभागले कार्यलाई तिव्रता दिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा तीनजना पूर्वप्रधानमन्त्रीहरुमाथि अनुसन्धान जारी छ ।
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगमा अनुसन्धान भइरहेको र यसअघिका निवेदनलाई तीव्रता दिइएको विभागले जनाएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भने अनुसन्धान केही समयअघिदेखि नै जारी रहेको पुष्टि गरेको छ ।
तीन पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि विगत केही समयदेखि अनुसन्धान चलिरहेको विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले जानकारी दिए ।
“तीन पूर्वप्रधानमन्त्रीमाथिको अनुसन्धान केही समयअघिदेखि नै चलिरहेको छ,” ठाकुरले बाह्रखरीसँग भने, “अनुसन्धान जारी रहेको बखत प्रमाण नष्ट हुने गतिविधि रोक्नु स्वाभाविक हो । तर, विभागबाट भने कुनै निर्देशन भएको छैन ।”
उनले विभागको कार्यक्षेत्र नभएकाले त्यस्तो निर्देशन नभएको जानकारी दिए । एक प्रहरीका उच्च अधिकारीले बाह्रखरीसँगको अनौपचारिक कुराकानीमा त्यसबाहेकका नेता पनि सूचीमा रहेको र जुनसुकै बेला पक्राउ पर्न सक्ने बताए ।
सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको र भदौ २४ मा जलेका नोट पनि फेला पारिएको हुनाले प्रमाण नष्ट हुन सक्ने भन्दै देउवाको निवास भत्काउन पनि रोक लगाइएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेल आफैँ उपस्थित भएर निर्देशन दिएपछि भत्काउन रोकिएको हो ।
देउवामाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ । “काठमाडौं जिल्लाका सीडीओ आफैँ उपस्थित भएर काम रोक्न निर्देशन दिनुभएको जानकारी आएको छ,” देउवाको सचिवालयले भन्यो, “अहिले काम रोकिएको छ । त्यस्तो निर्देशन किन भयो भन्ने हामीलाई जानकारी छैन ।”
उता पक्राउ परेका पूर्वमन्त्री दिपक खड्कालाई प्रहरीले सम्पत्ति शुद्धीकरण विभाग ललितपुर हरिहर भवन पठाएको छ । खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार धुम्बाराही क्षेत्रबाट पक्राउ गरेको थियो ।
खड्कालाई आइतबार नै सीआईबीले सम्पत्ति शुद्धीकरण विभाग पठाइएको सीआईबीका एसएसपी शिव श्रेष्ठले जानकारी दिए ।
‘‘सम्पत्ति शुद्धीकरणको अनुसन्धानको पार्ट भएकाले अनुसन्धान उहाँहरुले नै गर्नुहुन्छ । हामीले त सहयोग मात्रै गरेका हौँ,’’ एसएसपी श्रेष्ठले भने । सम्पत्ति शुद्धीकरण विभागको पत्रपछि खड्का पक्राउ परेका हुन् ।










