नेकपा एमाले म्याग्दीका नेता तथा कार्यकर्ता र नेपाल टेलिकमको कार्यालय मर्मतमा खटिएका मजदुर बिचको विवाद अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आइतबार पार्टी कार्यालय हाँडेभिरबाट निस्किएको बिरोध ¥याली नेपाल टेलिकमको कार्यालय नजिक आइपुग्दा जिन्दाबाद र मुर्दाबाद, गुण्डागर्दी बन्द गर, केपी चोर जस्ता नाराका बिच विवाद हुदाँ हात हालाहालको अवस्था पुगेको छ ।
नेकपा एमालेको विरोध कार्यक्रम बेनीबजार हुदै जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ज्ञापनपत्र बुझाउने पूर्व निर्धारित कार्यतालिका अनुसार अगाडी बढेको अवस्थामा टेलिकम क्षेत्रीय कार्यालय कास्कीको ठेक्कामा मर्मतका लागि आएका निर्माण ब्यवसायी रमेश पौडेलका मजदुरले कार्यालय परिसरबाट नेकपा एमाले मुर्दाबाद, केपी ओलीलाई जेल हाल्नुपर्छ भन्दै नारा लगाएसँगै कार्यालयभित्र नेकपा एमालेका कार्यकर्ता प्रवेश गरेपछि दुबै पक्षबाट हातपातको स्थिती सिर्जना भएको हो ।

नेकपा एमाले र मजदुर पक्षको दोहोरो विवादमा दुबै पक्षबाट प्रहार भएको प्रत्यक्षदर्शीले बेनीअनलाइनलाई बताए। ‘मजदुरले आन्दोलन पक्षलाई उक्काएका थिए, पार्टीका कार्यकर्ताको हातमा पार्टीको झण्डा थियो, मजदुरल बेल्चा लिएर आएका थिए’टेलिकममै कार्यरत एक कर्मचारीले भने ।
टेलिकमका कर्मचारीले नै पार्टी बिरुद्ध नारा लगाएको भन्दै बेनी नगरपालिका मेयर सुरत केसी सहित कार्यकर्ताहरु भित्र प्रवेश गरेपछि अवस्था जटिल बन्दै जाँदा तत्कालै सहजीकरणका कारण नियन्त्रण आएको नेपाल टेलिकम म्याग्दीले जनाएको छ ।
उक्त घटनामा सावर्जनकि भएको छोटो भिडियोमा मजदुरले बेल्चा लिएर आएको, नेकपा एमालेका कार्यकर्ताले मजदुरलाई कुटेको देखिन्छ । घटनामा संलग्न मजदुर र नेकपा एमाले दुबै पक्षलाई चोट लागेको छ। घटनामा सामान्य घाईते भएका मजदुर काममा फर्किएका छन् । कार्यालय परिसरमा निर्माण ब्यवसायीबाट ५ जना मजदुर खटिएको अवस्थामा चार जनाले भुई तलामा र १ जना माथि छतमा काम गरिरहेको अवस्थामा विवाद भएको थियो ।
उक्त घटनामा मजदुरलाई कुटिएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको भने नेकपा एमालेले शान्तिपूर्ण विरोध प्रदर्शनलाई हिंसात्मक बनाउन खोजिएको अवस्थामा विवाद उत्पन्न भएको नेकपा एमालेका यूवा नेता अमृत भण्डारीले बताए ।
उनका अनुसार टेलिकमको कार्यालय भित्रबाट कार्यालयले खटाएका केही कर्मचारी गेटमा निस्किएर तुच्छ शब्दहरु प्रयोग गरेपछि मेयर केसीले कार्यालय प्रमुखलाई कर्मचारीलाई सम्झाउन अनुरोध गर्दा मेयर केसीलाई प्रहार गरेपछि विवाद भएपछि आइलाग्ने माथी जाइलागेको स्वीकार गर्नुभएको छ ।
यता मजदुरहरुले आफ्नो हात र शरीरमा कुटपिटका कारण चोट लागेको जनाएका छन् । यसैबीच जिल्ला प्रहरी कार्यालय म्याग्दीले मजदुर र नेकपा एमालेका कार्यकर्ताको कुटपिटको घटनाको अनुसन्धान भइरहेको जनाएको छ । प्रहरी नायव उपरीक्षक सुर्य थापाले घटनामा संलग्न दुबै पक्षलाई बोलाइएको बताउनुभयो ।












