यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरू भएको छ । कुल २ हजार ३५ जना विद्यार्थीहरु रहेको म्याग्दीका सबै ८ परीक्षा केद्रमा निर्धारित समयमै परीक्षा सुरु भएको शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीले जनाएको छ । यस वर्ष जिल्लाबाट साधारणतर्फ नियमित १ हजार ६३५ जना र ग्रेडवृद्धितर्फ ३३५ जना तथा प्राविधिक धारतर्फ नियमित ६६ जना र ग्रेडवृद्धितर्फ ९ जनाले एसइई परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख विदुर चापागाईंले बताउनुभयो । जिल्लाभरी भयरहित वातावरणमा पहिलो दिनको परीक्षा सञ्चालन सम्पन्न भएको प्रमुख चापागाईले बेनीअनलाइनलाई बताउनुभयो

परीक्षाार्थी छात्रा १ हजार ४६ जना र छात्र ९८९ जना छन् । परीक्षा सञ्चालनका लागि प्रकाश माध्यमिक विद्यालय बेनी, बेनी सामुदायिक माध्यमिक विद्यालय बेनी, न्यू वेस्ट पोइन्ट आवासीय माध्यमिक विद्यालय बेनी र माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालय बेनीलाई परीक्षा केन्द्र तोकिएको छ ।

त्यसैगरी मंगला माध्यमिक विद्यालय बाबियाचौर, जनप्रिय माध्यमिक विद्यालय दरवाङ, हेम माध्यमिक विद्यालय शिवाङ तथा पोखरे आधारभूत विद्यालयलाई पनि परीक्षा केन्द्र तोकिएको छ । जिल्लाका ६ स्थानीय तहमध्ये बेनी नगरपालिकाभित्र चार वटा तथा अन्य चार गाउँपालिकामा १÷१ वटा परीक्षा केन्द्र तोकिएको छ भने यस बर्ष विद्यार्थी संख्या कमी भएकाले र पायक पर्ने भन्दै विद्यालयको अनुरोधमा रघुगंगा गाउँपालिकाको केन्द्र बेनीमा सारिएको छ ।

गाउँपालिकाले आर्थिक ब्यवस्थापन गर्ने प्रतिबद्धता जनाएपनि विद्यालयले बेनीबजार पायक पर्ने बताएपछि परीक्षा केन्द्र विहिन बनेको हो। रघुगंगामा विगतका वर्षहरूमा वडा नं २ मुक्तिधाम माध्यमिक विद्यालय भगवतीमा केन्द्र रहने गरेको थियो । त्यसैगरी बेनी नगरपालिका–४ स्थित धवलागिरी माध्यमिक विद्यालय र अन्नपूर्ण गाउँपालिकाको मुक्तिमार्ग माध्यमिक विद्यालयका परीक्षा केन्द्र पनि यस वर्ष हटाइएको छ ।

जिल्लाभित्र सञ्चालित परीक्षाको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य सहितको टोलीले अनुगमन गर्नुभएको छ । म्याग्दीमा गत बर्षको तुलनामा १ सय ८१ जनाले विद्यार्थी घटेको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले जनाएको छ । जिल्लाभर कुल विद्यार्थीमा प्रकाश माविको खुल्लातर्फबाट नियमित ६ जना ग्रेड वृद्दि २ जना, उज्यालो बैकल्पिक विद्यालयबाट ४ जना, २ ग्रेड बृद्धि २ जना, ज्ञानोदय माविको स्रोत कक्षाबाट न्युन दृष्टिविहिन २ जना, जडभरत संस्कृत माध्यमिक विद्यालयमा नियमित ३ जना, ३ ग्रेड बृद्धि परीक्षार्थी रहेका छन् ।










