राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ ।
सभामुख पदका लागि शुक्रबार उम्मेदवारी दर्ता भएको छ भने निर्वाचन चैत २२ गते गर्ने तालिका छ । सङ्घीय संसद सचिवालयका अनुसार आज बिहान ११ देखि दिउँसो २ बजेसम्म सभामुख पदको उम्मेदवारी दर्ताको समय तोकिएको छ । लगत्तै २ः३० बजे उम्मेदवारको सूची प्रकाशित हुनेछ ।
२२ गते बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्नेछन् । उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल सकिएपछि निर्णयार्थ प्रस्तुत हुने कार्यसूची छ ।

यसअघि रास्वपाको बिहीबार बसेको बैठकले सभामुख पदमा अर्याललाई अघि सार्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार अर्यालले आज सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको हो ।
हाल सभामुख नहुँदा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्दै आइरहनुभएको छ ।
सभामुख पदको निर्वाचनपछि चैत २३ गते राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि निर्वाचन हुने छ । त्यसका लागि चैत २२ गते मनोनयन दर्ताको कार्यक्रम छ ।
यसअघि उपाध्यक्ष विमला घिमिरेको कार्यकाल २० फागुनमा सकिएकाले हाल राष्ट्रिय सभा उपाध्यक्ष पद रिक्त छ ।

को हुन् डोलप्रसाद अर्याल
डोलप्रसाद अर्याल नेपाली राजनीतिज्ञ हुनुहुन्छ । उहाँ वि.सं. २०७९ माघमा प्रचण्ड नेतृत्वको सरकारमा २० दिनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रहनुभएको थियो ।
वि.सं. २०७९ को निर्वाचनमा उहाँ खस जनताको वर्गबाट समानुपातिक प्रतिनिधिका रूपमा निर्वाचित भई विघटित प्रतिनिधि सभाका पूर्व सदस्य हुनुहुन्थ्यो । हाल उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापतिको रुपमा क्रियाशील हुनुहुन्छ ।
उहाँ माघ २०७९ मा सर्वोच्च अदालतले रास्वपा अध्यक्ष रवि लामिछानेको नागरिकता अवैध ठहर गर्दै सबै सार्वजनिक पदबाट हटाएपछि छोटो समयका लागि कार्यवाहक अध्यक्ष नियुक्त भएका हुनुभएको थियो ।
त्यसपछि सहकारी मुद्दामा लामिछाने कारागारमा रहँदा पनि अर्यालले कार्यवाहक सभापतिको भूमिका निर्वाह गरेका हुनुहुन्थ्यो । लामिछाने कारागार मुक्त भएपछि अर्याल उपसभापति पदमा कायम हुनुभएको छ ।
अर्याल दुई पटक श्रम मन्त्री बनिसक्नुभएको छ । जेनजी आन्दोलनपछि भएको संसद् विघटनपछि घोषित फागुन २१ को निर्वाचनमा उहाँ रास्वपाबाट काठमाडौँ–९ निर्वाचन क्षेत्रमा उम्मेदवार बन्नुभएको छ ।











