म्याग्दीमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को उत्तरपुस्तिका परीक्षा लिइएको केन्द्रमै परीक्षण भइरहेको छ । एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने योजनाअनुसार परीक्षा दिएकै दिन उत्तरपुस्तिका परीक्षण सुरु गरिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । जिल्लाभर रहेका ८ परीक्षा केन्द्रमध्ये शनिबारदेखि धवलागिरी गाउँपालिकाको हेम मावि सिवाङमा सुरु गरिने इकाइ प्रमुख विदुर चापागाईंले बताउनुभयो ।‘परीक्षा केन्द्रमा सिसीक्यामेरा जडान गरिएको छ, निगरानी समेत उच्च छ’ प्रमुख चापागाईले भन्नुभयो ।
विहिबारदेखि सुरु भएको एसइईमा कुल २ हजार ३५ जना विद्यार्थीहरु रहेका छन् । हरेक केन्द्रमा परीक्षा सकिनासाथ परीक्षणको कार्यतालिका रहेको छ। आफ्ना विद्यार्थीको कपी सम्बन्धित विद्यालयका शिक्षकबाहेकले जाँच गर्ने सहित सबै जिम्मेबारी केन्द्राध्यक्षलाई दिइएको छ भने निगरानी समेत भइरहेको छ ।
उत्तरपुस्तिका चेकजाँच गर्ने क्रममा कुनै कमजोरी भएमा कानुनी कारवाहीको दायरामा ल्याइने इकाइ प्रमुख चापागाईले बताउनुभयो । जिल्लामा प्रकाश माध्यमिक विद्यालय बेनी, बेनी सामुदायिक माध्यमिक विद्यालय बेनी, न्यू वेस्ट पोइन्ट आवासीय माध्यमिक विद्यालय बेनी र माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालय बेनीलाई परीक्षा केन्द्र तोकिएको छ ।
त्यसैगरी मंगला माध्यमिक विद्यालय बाबियाचौर, जनप्रिय माध्यमिक विद्यालय दरवाङ, हेम माध्यमिक विद्यालय शिवाङ तथा पोखरे आधारभूत विद्यालयलाई पनि परीक्षा केन्द्र तोकिएको छ । यसैबीच जिल्लाभित्र सञ्चालित परीक्षा तथा उत्तरपुस्तिका चेकजाँच कार्यको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य सहितको टोलीले अनुगमन समेत भइरहेको छ ।












