‘उद्यमशीलता र पारदर्शिता : सहकारीको प्राथमिकता’ भन्ने मूल नारासहित शुक्रवार म्याग्दीमा ६९औँ राष्ट्रिय सहकारी दिवस मनाइएको छ । राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सदरमुकाम बेनीबजारस्थित प्रदेश अस्पताल बेनीको परिसरमा सरसफाइ र बिरामीलाई फलफूल वितरण गरिएको हो ।
जिल्ला सहकारी संघ लिमिटेड बेनी म्याग्दीको आयोजना र को–अपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) म्याग्दीको सहआयोजनामा प्रदेश अस्पतालको परिसर, बगैँचा र आसपासका क्षेत्रमा सरसफाइ गर्नुका साथै अस्पतालमा उपचार गराइरहेका बिरामीहरुलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मौसम अनुकुल हुने गरी विभिन्न प्रकारका फलफूलहरु वितरण गरी दिवस मनाइएको संघले जनाएको छ ।
जिल्ला सहकारी संघ र को–अपरेटिभ म्यानेजर्स क्लबका पदाधिकारी, सदस्यहरु तथा जिल्लास्थित विभिन्न सहकारी संघसंस्थाका प्रमुख, प्रतिनिधि, सहकारीकर्मी र कर्मचारीहरुले अस्पताल परिसरमा सरसफाइ गरेका थिए भने बिरामीलाई फलफूल वितरण गरेका थिए । प्रदेश अस्पताल बेनीको परिसरको विभिन्न ठाउँमा रहेको फोहोर, कागज, झारपात र प्लाष्टिकलाई सङ्कलन गरी जल्ने र नजल्नेलाई छुट्टाछुट्टै व्यवस्थापन गरिएको थियो । दिवसको अवसरमा अस्पतालमा सरसफाइ गरी सचेतना जगाउने प्रयास थालिएको आयोजकले बताएका छन् ।

अस्पतालमा सरसफाइ र बिरामीलाई फलफूल वितरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्की (बिखर्ची)ले सहकारी क्षेत्र केबल आर्थिक कारोबारमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व वहन गर्ने महत्वपूर्ण संस्था भएको बताउनुभयो । उहाँले सचेतनामूलक कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सहकार्य, सहयोग र सेवाको भावना अभिवृद्धि गर्न मद्दत पुग्नेमा जोड दिनुभयो । कार्यक्रम को–अपरेटिभ म्यानेजर्स क्लबका अध्यक्ष नेत्रराज सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा सहभागीहरूले सहकारी दिवसलाई केबल औपचारिक कार्यक्रमको रूपमा मात्रै नभई समुदायसँग जोडिने अवसरको रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले सरसफाइ जस्ता अभियानले सार्वजनिक स्थलहरू स्वच्छ, सफा राख्न प्रेरणा दिने र स्वास्थ्यप्रति जनचेतना बढाउने विश्वास पनि व्यक्त गरेका थिए । आगामी दिनहरूमा समेत यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ ।

नेपालको सन्दर्भमा सहकारी आन्दोलनको इतिहास वि.सं. २०१३ सालबाट सुरु भएको हो । चितवनको बखानपुरमा स्थापना गरिएको ‘बखान सहकारी संस्था’ देशकै पहिलो सहकारीको रूपमा परिचित छ । त्यसपछि सहकारी ऐन, २०१६ लागू भएसँगै सहकारी संस्थाहरूको विस्तार तीव्र गतिमा अगाडि बढेको हो । यही ऐतिहासिक पृष्ठभूमीलाई सम्झँदै हरेक वर्ष चैत २० गतेको दिनलाई राष्ट्रिय सहकारी दिवसको रुपमा मनाइँदै आइएको छ ।










