---Advertisement---

बागलुङ मिडिया मेलाबाट १० बुँदे घोषणापत्र जारी

On: April 5, 2026 8:27 AM
Follow Us:

नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले आयोजना गरेको दुई दिने ‘बागलुङ मिडिया मेला–२०८२’  सम्पन्न भएको छ । सञ्चार माध्यममार्फत बागलुङलाई राष्ट्रियस्तरमा चिनाउँदै समृद्ध बागलुङ निर्माणमा टेवा पु¥याउने उद्देश्यसहित मेला आयोजना गरिएको हो । मेला सम्पन्नसँगै दस बुँदे ‘बागलुङ मिडिया मेला–२०८२ घोषणापत्र’ समेत सार्वजनिक गरिएको छ ।

घोषणापत्रमा पत्रकारितालाई समयानुकूल विश्वसनीय, अनुसन्धानमूलक र जिम्मेवार बनाउनुपर्ने, डिजिटल युगअनुसार सञ्चारमाध्यमलाई रूपान्तरण गर्नुपर्ने तथा स्थानीय स्तरमा सञ्चार क्षेत्रको दिगो विकासका लागि नीतिगत पहल आवश्यक रहेको उल्लेख गरिएको छ ।

त्यसैगरी, डिजिटल साक्षरता विस्तार, ग्रामीण पत्रकारिताको सुदृढीकरण, सञ्चारमाध्यममा व्यावसायिकता अभिवृद्धि, स्थानीय सामग्री उत्पादनमा जोड तथा पत्रकारको क्षमता विकासमा लगानी बढाउनुपर्नेमा जोड दिइएको छ । घोषणापत्रले सरकारी विज्ञापन नीति पुनर्विचार गर्न, स्थानीय सञ्चारमाध्यमलाई संरक्षण तथा प्रवद्र्धन गर्न र मिडियामार्फत बागलुङको पर्यटन, कृषि तथा उद्यमशीलताको प्रवद्र्धन गर्न आग्रह गरेको छ ।

मेलाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए । मेलामा बागलुङ बजारको करिब ५० वर्ष पुरानो इतिहास झल्काउने तस्बिर प्रदर्शनी, विद्वत प्रवचन, प्यानल डिस्कसन, बागलुङे पत्रकारहरूको पुनर्मिलन, भित्तेपत्रिका लेखन प्रतियोगिता, लाइभ पेन्टिङ, सञ्चार सामग्री तथा उपकरण प्रदर्शनी लगायतका  कार्यक्रम सञ्चालन गरिएका थिए । साथै, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो ।

मेलाले विशेषगरी बागलुङमा जन्मिएर देशका विभिन्न स्थानमा पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरूलाई गृहजिल्लासँग जोड्ने, पुनर्मिलन गराउने तथा निजी क्षेत्र र स्थानीय तहबिच सहकार्य बढाउने वातावरण सिर्जना गरेको आयोजकले जनाएको छ । मेलाअन्तर्गत ‘गिद्धेप्रेसदेखि एआइसम्म’, ‘न्यु मिडिया : नाम पनि, दाम पनि’, ‘बागलुङको भविष्य : कृषि, उद्यम कि पर्यटन , ‘मिडियामा सिमान्त आवाज’ लगायतका विभिन्न विषयमा दस वटा प्यानल छलफलमा कार्यक्रम सम्पन्न भएको थियोे ।

Leave a Comment