बागलुङ नगरपालिका-२,श्रीनगर टोल निवासी सुवासचन्द्र लामिछानेले करिब डेढ महिनाको मेहनतमा पञ्चमुखी हनुमानको मुर्ति तयार भएको छ । दैनिक कालिगण्डकी नदीबाट संकलित शालग्राम शिलाबाट निर्मित विभिन्न भगवानको मुर्ति बनाउन लामिछानेलाई भ्याइनभ्याई छ । विसं २०४७ सालबाट ढुङ्गा कुँदेर मूर्ति निर्माण गर्न सुरु गरेका लामिछानेले बनाएका मुर्ति, शिला नेपालका विभिन्न जिल्लामा पुग्छ । बि.स २०५४ सालबाट व्यावसायिकरुपमा मूर्ति बनाउने ब्यवसाय सञ्चालन गरेका लामिछानेको सुवास मुर्ति उद्योगमा अहिले ७ हजारदेखि ५ लाखसम्म मुल्य पर्ने हिन्दु संस्कार अनुसारका मुर्ति रहेको छन् ।

विगतमा हातले मुर्ति कुँदा चोट लाग्ने गरेपनि अहिले विद्युतीय औजारले सहजता बनाएको छ भने उद्योगमा ज्यालामजदुरीमा ७ देखि १० जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । चित्रकला र मूर्तिकलामा आफ्नो सृजनशीलतालाई झल्काउने लामिछानेलाई म्याग्दी, बागलुङ, पर्वत, मुस्ताङका साथै गण्डकी प्रदेश र तराईका विभिन्न जिल्लाबाट समेत अर्डर आउने गरेको छ ।

म्याग्दी र पर्वतमा समेत उद्योग स्थापना गरी लामिछाने दाजुभाईले ढुङ्गाको आकर्षक मूर्ति र शिलालेखबाट सफल व्यवसायीका रुपमा परिचय स्थापित गरेका छत् । कागजमा कोरेको चित्रलाई ढुङ्गामा उतार्न छिनो र घनको सहायताले दैनिक काम गर्ने गरिएको छ। विद्युतीय औजारबाट निर्मित शिलाको दिगोपन नहुने भएकाले हातले नै कुँदेर बनाएको शिलाले नै ग्राहकको मन जितेको सुबाशचन्द्रको भनाई छ ।
हिन्दू धर्मका धेरै भगवान् र सँगै बौद्धको मूर्तिसमेत बनाउने गरिएकाले नियमित माग हुने मुर्तिहरु पसलमा प्रसस्तै हुने भएकाले ग्राहकलाई समेत सहज भएको छ । चाडपर्वमा मूर्तिको माग धान्नै धौधौ हुने गरेको सुवाशचन्द्रको भनाई छ । आफ्नो उद्योगसँगै सिप हस्तान्तरणका लागि समेत देशका विभिन्न जिल्लामा पुग्ने गरेकोमा स्वदेशमै रोजगारीका लागि मुर्ति उद्योग एउटा सम्भावना रहेको बताउँछन् ।
पछिल्लो समय सहयोगदाताको विवरणलाई लामो समयसम्म राख्न शिला लेख्ने कार्य बढेसँग सन्ततीले आफ्ना बाउबाजेले निर्माण गरेको मठमन्दिरमा मूर्ति राख्ने चलनले समेत ब्यवसाय झनै फस्टाइरहेको छ । मूर्ति उद्योगमा प्रायः शिवलिङ्ग, शिव भगवान्, विष्णु, नाग, सरस्वती, देवी, पार्वती र नारी स्वरुपका मूर्ति बनाउने गरिएको छ ।

आधुनिक उपकरणमा आफ्नो सिप मिसाएर बनाउने मुर्तिमा पोखिएको मेहनतले नै सन्तुष्टीको आधार भएको सुवाशचन्द्रको भनाई छ। पर्वत जिल्ला पुख्यौली घर भएका लामिछानेले ८ दाजुभाईमध्ये दुई भाई विदेश, एक भाई शिक्षक रहेकोमा सुवासचन्द्रको प्रेरणाका कारण चार दाजुभाईले मूर्ति उद्योग सञ्चालन गरेका छन् ।















