---Advertisement---

चिमखोलामा भूमि देवतालाई खुसी बनाउन भूमे पूजा

On: April 8, 2026 8:57 AM
Follow Us:

जम्मा भएका सबैको अनुहारमा कालोमोसो दलिएको छ । यो मोसो कुनै कारबाही वा दण्ड पाएर दलिएको नभएर उत्सवमा दलिएको हो । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा मङ्गलबार स्थानीयले सयौँ वर्ष पुरानो संस्कृतिलाई निरन्तरता दिएर मौलिक रुपमा भूमे पूजा गरेका छन् ।

भूमे देवतालाई खुसी बनाउन यहाँ भूमे पूजामा मोसो, छ्याङका छोक्रा एक आपसमा दलेर नाचगान गर्ने प्रचलन रहेको छ । चिमखोलाको सेवाङमा रहेको भूमेथानमा स्थानीयवासी, देश विदेशबाट आएका चिमखोलावासीसँगै छिमेकी गाउँबाट पुगेका मगर समुदायले भूमे पूजा गरेका हुन् ।

चैत महिनाको उजेली मङ्गलबारका दिन जिल्लाको विभिन्न ठाउँका मगर समुदायले भूमे पूजा गरेपनि चिमखोलाको भूमे पूजाको संस्कार र संस्कृति अन्य ठाउँको भन्दा पृथक रहेको स्थानीय गम पुनले बताउनुभयो । उहाँका अनुसार यहाँ भूमे थानमा पूजा गरेपछि मोसो दलेर बाजागाजासँगै नाचगान गर्दै खुसीयाली मनाउने चलन छ ।

“खेतीकिसानी गर्ने पुख्र्यौली पेसा बोकेका मगर समुदायले भूमि देवतालाई खुसी बनाउन भूमे पूजा गर्दछन्”, पुनले भन्नुभयो, “भूमेलाई साँडको बलि दिएर पूजा गरेपछि छेमाहरु र पूजारीले राखेको जाँड चढाउने गरिन्छ । त्यसपछि जाँडको छ्याङ खाने र एकआपसमा मोसो लगाएर नाचगानसहित रमाइलो गर्ने प्रचलन छ ।”

वनजङ्गल छेउछाउ बसोबास गर्ने भएकाले प्रकृतिलाई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपद् नहोस्, खेतीबाली राम्रो होस् भन्ने कामनाले भूमे पूजा गर्ने प्रचलन रहेको उहाँको भनाइ छ । उहाँका अनुसार भूमे थानमा पुन जातिलाई पूजारीको रुपमा राख्ने गरिन्छ ।

पूजारीले पूजाको तीन दिन अघि नै सागरे छहरा थानमा पूजा गर्ने र सोही दिन बनाउने छ्याङलाई भूमे पूजामा मुख्य प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन रहेको छ ।

गाउँभेलाबाट भूमे पूजाका लागि एक महिनाअघि नै छ्याङ बनाउने जाँड राख्न छेमा (महिला) छनोट गरेपछि उनीहरूले विभिन्न टोलमा छुट्टाछुट्टै समूह बनाएर प्रत्येक घरबाट कोदो, चामल र नगद सङ्कलन गरी कोदोको छ्याङ बनाउन जाँड राख्ने चलन रहेको छ ।छेमाहरुले एक महिनाअघि राखेको जाँडलाई भूमेथानमा विधिपूर्वक चढाएर खाने, सोही छ्याङ र खाना पकाउँदा अँगेनामा आउने अङ्गार एकअर्कालाई दलेर नाचगान गर्ने गरिएको छ ।

हरेक टोलका छेमाहरुको टोलीले भूमे थान परिसरमा छुट्टाछुट्टै भान्सा चलाएर जाँडको छ्याङ छानेर खुवाउने गर्दछन् । बाजागाजा बजाएर नाचगान गरेर भूमे देवताको नाममा खुसीयाली मनाउने गरिन्छ ।

भूमेथानमा मौलिक संस्कृतिअनुसार पूजा गरेपछि लोपोन्मुख अवस्थामा रहेको पूख्र्यौली सेदो गीत गाउँदै थान परिसरमा भान्सा चलाएका सबै चुला फन्को मारेर चुला उठाउने गरिन्छ भने भूमेथानबाट गाउँ फर्कने क्रममा भैच मायाले (साइलो भाका) मा दोहोरी गाउँदै नाचगान गरिन्छ । यसरी गाउँ फर्कँदा स्थानीय मण्डली युवा क्लबले ज्येष्ठ नागरिक, समाजसेवी, जनप्रतिनिधि र अगुवालाई काँधमा बोकेर सम्मानसहित गाउँमा पु¥याउने गर्दछन् ।

यस दिनमा छेमाहरुले टोपा नाच प्रदर्शन गर्दछन् भने सरमाजाले जुरेचल्ला, दुलहादुलहीको कलस जुँधाउने नाचसँगै थाली नाचलगायत मौलिक कला र संस्कृति देखाउने चलन रहेको छ ।

भूमे पूजाको दिनमा चिमखोलाको मण्डली र ताप्केभेरा थानमासमेत विशेष पूजा गरिएको छ । भाकल र मनोकाङ्क्षा पूरा हुने जनविश्वासले मण्डली थानमा विभिन्न ठाउँबाट भाकल गरेर पूजा गर्न आउने भक्तजन बढ्दै गएका छ ।

Leave a Comment