चल्दै आएको अभ्यासलाई तोड्दै प्रधानमन्त्री बालेन्द्र शाहले आज (चैत २५) एकसाथ २० देशका राजदूतसँग भेटवार्ता गर्दै छन् ।
ती राजदूतहरूले प्रधानमन्त्री शाहसँग सामूहिक शिष्टाचार भेटवार्ता गर्न लागेका हुन् । भेटवार्ता बुधबार दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ ।
यसअघि प्रधानमन्त्री भएलगत्तै विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट्ने अभ्यास रहेको थियो । “प्रधानमन्त्री बालेन्द्र शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दै हुनुहुन्छ । परराष्ट्रमन्त्री शिशिर खनालसहितको यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्नेछ,” प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस विज्ञ दिपा दाहालले सामाजिक सञ्जालमा लेखेकी छन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, अमेरिकी, भारतीय, चिनियाँ बेलायती, जापानी, युरोपेली युनियन लगायतका राजदूतहरूले आज सामूहिक रूपमा प्रधानमन्त्री भेट्ने छन् ।
भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् ।
“यो एउटा कूटनीतिक ब्रिफिङ जस्तै हुनेछ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । सामूहिक भेटवार्तामा प्रधानमन्त्री शाहले देशको पछिल्लो अवस्थाबारे जानकारी गराउनेछन् ।









