प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले नातावाद, कृपावाद चाकरीवाद र चाप्लुसीवादको भाइरसबाट बच्न सांसद, नेता र सरकारलाई आग्रह गरेका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा धारण राख्दै उनले सदियौँदेखि रहेको यो भाइरसले देशमा जरा गाडेको भन्दै यसबाट बच्न आग्रह गरेका हुन् ।
‘सरकारसहित र माननीय र राजनीतिक पार्टीहरूसँग के अनुरोध गर्न चाहन्छु भने, नेपालमा सदियौँदेखि एउटा भाइरस छ, नातावाद, कृपावाद, चाकरीवाद र चाप्लुसीवाद’, उनले भने, ‘त्यसबाट बच्नुहोस्।’
उनले रणबहादुर शाहको पालामा शुरु भएको र जंगबहादुरको काल हुँदै २००७ साल र २०४६ को प्रजातन्त्रप्राप्तिपछि पनि नहटेको र २०६२/६३ को आन्दोलनपछि आएको लोकतन्त्र र गणतन्त्रमा झनै मौलाएको तर्क गरे।
उनले अबदेखि कुनै पनि नेता मन्त्री वा सांसदले आफ्नालाई सुविधा दिने पदमा राखेको सुन्न नचाहेको बताए। ‘अबदेखि कुनै पनि नेताले आफ्नो छोराछोरी-नातागोतालाई सुविधा दिने पदमा नियुक्त गरेको भन्ने सुन्न नपरोस्’, उनले चेतावनी दिए, ‘अझै राख्ने हो राजनीतिक पार्टी र नेताहरूलाई नै घाटा हुन्छ।’








