---Advertisement---

नेपाल फोटो पत्रकार महासंघ म्याग्दीका अध्यक्ष बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित

On: April 9, 2026 3:58 PM
Follow Us:

नेपाल फोटो पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष अमर बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । हालै चितवनको सौराहामा सम्पन्न नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशनबाट म्याग्दी शाखाका अध्यक्ष बानियाँ केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

अध्यक्ष बानियाँ म्याग्दी जिल्लाको प्रतिनिधित्व गर्दै महासंघको केन्द्रीय सदस्य बन्नुभएको छ । केन्द्रीय सदस्यमा निर्वाचित भएपछि बानियाँले आफ्नो कार्यकालमा फोटो पत्रकारहरुको पेशागत हकहितको सुरक्षा, क्षमता अभिवृद्धि तथा फोटो पत्रकारिताको विकासमा योगदान पु¥याउने प्रतिबद्धता जनाउनुभयो । केन्द्रीय सदस्यमा निर्वाचित बानियाँमार्फत अब जिल्लाका पत्रकारहरुको आवाज राष्ट्रियस्तरमा पुग्ने अपेक्षा समेत गरिएको छ ।

म्याग्दीमा विगतदेखि नै फोटो व्यवसायसँगै जिल्लाको पत्रकारिता क्षेत्रमा सक्रिय नवनिर्वाचित केन्द्रीय सदस्य बानियाँ तत्कालीन समयमा सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनको म्याग्दी जिल्ला संवाददाताको रुपमा रहेर काम गर्नुभएको थियो । पत्रकारिता सँगैसँगै सामाजिक क्षेत्रमा क्रियाशील बानियाँ अहिले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दी र नेपाल नेत्रज्योति संघ म्याग्दी शाखाको सभापति हुनुहुन्छ । धौलागिरि पर्यटन परिषद म्याग्दीको अध्यक्ष समेत रहनुभएका बानियाँ जिल्लाको अन्य क्षेत्रमा पनि आबद्ध रहनुभएको छ ।

केन्द्रीय सदस्यमा निर्वाचित बानियाँले फोटो पत्रकारितामा आफूले धेरै समय बिताएको भए पनि केन्द्रीयस्तरमा भने पहिलोपटक पुग्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले म्याग्दी जिल्ला धार्मिक, ऐतिहासिक र पर्यटनका हिसाबले प्रचुर सम्भावनायुक्त रहेकाले आउँदा दिनहरुमा फोटो पत्रकारितामार्फत जिल्लाको पर्यटनसँगै विविध क्षेत्रको विकासमा आफूले सक्दो पहल गर्ने बताउनुभयो ।

Leave a Comment