राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई मन्त्री पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ।
पदीय मर्यादाको दुरुपयोग गर्दै आफ्नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा फर्काएको पाइएपछि रास्वपा सभापति रवि लामिछानेले मन्त्री साहलाई पदमुक्त गर्न प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष सिफारिस गरेका हुन्।
यता, प्रधानमन्त्री शाहले पनि मन्त्री साहलाई पदबाट हटाउने तयारी गरेका छन्।
मन्त्री साहमाथि पदीय शक्तिको दुरुपयोग गरी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित गराएको आरोप लागेको छ।
यसअघि लगातार ११ पटकसम्म बोर्ड बैठकमा अनुपस्थित भएको भन्दै स्वास्थ्य बीमा बोर्डले श्रेष्ठलाई सदस्य पदबाट हटाएको थियो। तर, लामो समयदेखि निष्क्रिय राखिएको उक्त बोर्डमा श्रेष्ठ पुनः सदस्यको हैसियतमा बैठकमा सामेल भएपछि विवाद सतहमा आएको हो।
विगतदेखि नै विवादित छवि रहेका मन्त्री साहले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पनि शंकास्पद गतिविधि गरेको गुनासो बढेको थियो। श्रीमतीलाई पदमा फर्काउने विषयमा पार्टीको केन्द्रीय अनुशासन आयोगले अध्ययन गरी चैत २५ गते आवश्यक कारबाहीका लागि पत्र पठाएपछि रास्वपाले आवस्यक कदम चालेको हो।
रास्वपा सभापति लामिछानेले बिहीबार प्रधानमन्त्री शाहलाई औपचारिक पत्र लेख्दै मन्त्री साहलाई जिम्मेवारीबाट अलग गर्न सिफारिस गरेका छन्। मन्त्री साहको कार्यले पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामाथि गम्भीर आँच आएको रास्वपाले दाबी गरेको छ।
पार्टी विधानको धारा २५ (४) (क) ले सभापतिलाई पार्टीको आदर्श र मर्यादा जोगाउने जिम्मेवारी दिएको र पदीय दुरुपयोग भएको अवस्थामा विधानको धारा ६९ बमोजिम फिर्ता बोलाउन सक्ने (राइट टु रिकल) व्यवस्था रहेकाले सोहीअनुसार साहलाई फिर्ता बोलाइएको पत्रमा उल्लेख छ।
यसैगरी, रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई समेत सचेत गराउन सिफारिस गरेको छ। स्वास्थ्य बीमा बोर्डको यस्तो गम्भीर विषयमा विभागीय मन्त्रीका रूपमा स्वास्थ्यमन्त्री मेहताले आफ्नो जिम्मेवारीमा अपेक्षित गम्भीरता नदेखाएको पार्टीले औंल्याएको छ।













