गण्डकी विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहबाट म्याग्दी बेनी नगरपालिका–९,घतान गिठिनीका मलिन कुमार रोकाले ब्याचलर इन स्पोट्र्स म्यानेजमेन्ट (बीएसएम)मा ३.५९ सिजीपीए हासिल गरी सर्वोत्कृष्ट विद्यार्थी हुनुभएको छ ।गण्डकी प्रदेश सरकारद्वारा स्थापित विश्वविद्यालयको खेलकुद ब्यवस्थापनतर्फ उत्कृष्ट नतिजा दीक्षान्त समारोहबाट गोल्ड मेडल सहित उपकुलपति पदकबाट पुरस्कृत हुनुभएको हो ।
जिल्ला खेलकुद विकास समितिका कार्यसमिति सदस्य,गण्डकी प्रदेश भलिबल प्रशिक्षक समेत रहनुभएका रोकालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान गर्नुभएको थियो ।
‘खेलकुदसम्बन्धि ज्ञानसँगै उत्कृष्ट विद्यार्थी हुन पाएकोमा उत्साहित छु,अब खेल र पढाइलाई सँगसँगै लैजान्छु’ गोल्ड मेडलिष्ट रोकाले बेनीअनलाइनलाई भन्नुभयो । म्याग्दीमा भलिबल खेलसँगै प्रशिक्षण तथा पोखरामा समेत प्रशिक्षण केन्द्र सञ्चालन गर्नुभएका रोकाले आफ्नो पेशा अनुसारको पढाइको अवसरले समेत सहज भएको बताउनुभयो ।
यसैबीच खेलकुद ब्यवस्थापनतर्फ राष्ट्रिय महिला भलिबलकी क्याप्टेन अरुणा शाही, उसु प्रशिक्षक भगिरथ कँडेल समेत दिक्षित हुनुभएको छ ।

पोखरा–३२ मालमुलस्थित विश्वविद्यालयकै प्रांगणमा आयोजित दीक्षान्त समारोहमा विभिन्न तीनवटा शैक्षिक कार्यक्रमका कुल ४४ जना विद्यार्थी दीक्षित हुनेछन् । जसमा ब्याचलर इन स्पोट्र्स म्यानेजमेन्ट (बीएसएम) का ११ जना, ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी(बीआईटी) का १८ जना र बी फर्माका १५ जना विद्यार्थी रहेका थिए ।

विश्वविद्यालयका कुलपति इन्द्रप्रसाद तिवारी,उपकुलपति एवं दीक्षान्त समारोह समितिका अध्यक्ष कृष्णराज अधिकारी,वरिष्ठ शिक्षाविद् प्राध्यापक केदारभक्त माथे लगायत विशिष्ट ब्यक्तिको उपस्थित रहेको थियो ।
२०७६ मा नेपालकै पहिलो प्रदेश विश्वविद्यालयका रूपमा स्थापना भएको यस संस्थामा हाल ६ वटा कार्यक्रममा ७ सय ५० विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयले निकट भविष्यमै विद्यावारिधि र स्नातकोत्तर तहका थप कार्यक्रम सुरु गर्ने लक्ष्य राखेको छ ।
यसैबीच जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले खेलकुदमा स्नातक तहको गोल्ड मेडलिस्ट रोका सहित भलिबल खेलाडी शाही र कँडेललाई बधाई दिदैं खेल शिक्षाको अनुभव नयाँ खेलाडीलाई समेत हौसला मिल्ने बताउनुभयो ।










