आर्थिक बर्ष २०८२/०८३ को दोस्रो चौमासिकसम्मको अवस्थाको बारेमा भएको सार्वजनिक सुनुवाईमा रघुगंगा गाउँपालिका–५ झिँका स्थानीयले शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार ल्याउन माग गरेका छन् ।
गाउँपालिकाबाट भएको बजेट कार्यान्वयन, विकास निर्माण तथा सेवा प्रवाहको सम्बन्धमा शुक्रवार गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाईमा उक्त कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा सहभागी भएको सर्वसाधारण जनताले स्वास्थ्य चौकीमा सरकारले निःशुल्क उपलब्ध गराउने औषधीको नियमित उपलब्धता गराउनुपर्ने, कार्यालय समय बाहेक समेत आकस्मिक उपचार सेवा दिने प्रवन्ध मिलाउनुपर्ने, गाउँपालिकाले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवालाई प्रभाबकारी बनाउनुपर्ने, विद्यालयहरुमा बिषयगत शिक्षकहरुको व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।
जिल्ला सदरमुकाम तथा पालिकाको केन्द्र जोड्ने सडकको स्तरोन्नती, पशुपालन गर्ने कृषकहरुलाई औजार उपकरणको व्यवस्थापन, जलविद्युत आयोजनाको सामाजिक उत्तरदायित्वको बजेटको कार्यान्वयन लगायतका बिषयमा गाउँपालिकाको ध्यानकर्षण गराएका थिए । सहभागीहरुले वडाको नवनिर्मिति भवनको झ्यालमा ग्रिल राख्ने र भवन परिसरमा पानी नियन्त्रणको लागि नाली बनाउने काम निर्माण व्यवसायिले अपुरै छाडेको प्रति प्रश्न उठाएका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष भवहादुर भण्डारीले कामलाई पुरा गर्न निर्माण व्यवसायिको ध्यानकर्षण गराउने र पुरा नगरे धरौटी रकम जफत गरेर भएपनि कामलाई पूर्णता दिइने बताए । पालिकाले जनतालाई आधारभूत स्वास्थ्य सेवाको पहुँच पु¥याउन स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाईहरुमा औषधी र जनशक्तिको व्यवस्थापनमा ध्यान दिँदै आएको भण्डारीको भनाई थियो ।
उनले गाउँपालिकाले विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधार गर्न आबश्यकताका आधारमा बिषयगत शिक्षक समेत नियुक्त गरिरहेको जानकारी गराउँदै आगामी शैक्षिक सत्रदेखि पालिकाले स्थानीय पाठ्यक्रम समेत लागू गर्ने तयारी गरेको जानकारी दिए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले आकस्मिक रुपमा भएको निर्वाचनको आचार संहिताको कारण केहि साता औषधी खरिदमा ढिलाई भएको बताउँदै अहिले सबै स्वास्थ्य संस्थामा औषधी उपलब्ध रहेको जानकारी दिए ।
कार्यक्रममा स्वास्थ्य चौकीका इन्चार्ज सुनिता श्रेष्ठले साधारण उपचारमा कार्यालय समय तथा आकस्मिक र बर्थिङ सेन्टरको सेवा चौविसै घण्टा दिदै आएको बताइन् ।

कार्यक्रममा वडा अध्यक्ष मनबहादुर शेरमञ्जाले वडामा सञ्चालिन विकास निर्माण योजना र बजेटलाई गाउँभेला मार्फत पारदर्शी रुपमा छनौट र कार्यान्वयन गर्दै आएको बताउँदैे समाजघरमा पूर्वाधार निर्माण गर्ने योजनालाई प्राथमिकता दिएर अघि बढेको जानकारी दिए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले पालिकाले चालु आर्थिक बर्षको दोस्रो चौमासिक सम्म हाँसिल गरेको उपलब्धीहरुको बारेमा जानकारी गराएका थिए । उनका अनुसार, पालिकाले हालसम्म चालु तर्फ १५ करोड ६२ लाख र पुँजीगततर्फ ३ करोड १५ लाख बजेट खर्च गरेको छ ।
चालु आर्थिक बर्षमा गाउँपालिकाले १४० वटा योजना छनौट गरेकोमा ९६ वटा योजना सम्झौता भई निर्माण चरणमा रहेको र ४८ पटा योजनाको कार्य सम्पन्न भएको पौडेलले जानकारी दिए ।










