एकीकृत सेवा कार्यालय, म्याग्दीको आयोजनामा महिलाहरूलाई लक्षित गरी सञ्चालित निःशुल्क २० दिने लोकसेवा आयोग परीक्षा तयारी कक्षा समापन भएको छ ।
शनिबार म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख भोलानाथ घिमिरेको प्रमुख आथित्यतामा आयोजित समापन कार्यक्रममा तयारी कक्षाले लोकसेवाको सपनालाई पूरा गर्ने बाटो खुलेको बताइएको थियो । निजामति सेवामा प्रवेश गर्ने सपना भएपनि तयारीको शैलीका बारेमा जानकारी नहुदाँ अलमलमा रहेको अवस्थामा तयारी कक्षाले सहज बातावरण बनाएको सहभागिको भनाई थियो ।

समापनमा कार्यालयका प्रमुख सम्मेर घर्ति क्षेत्रीले महिलाहरूको क्षमता अभिवृद्धि तथा लोकसेवा परीक्षामा सफलता हासिल गर्न कक्षा सञ्चालन गरिएको बताउनुभयो ।
लोकसेवाका लागि प्रयाप्त मेहनतसँगै तयारी कक्षाहरुले समेत लोकसेवामा सफलता प्राप्त गर्ने बताउनुभयो ।कक्षामा ३० जना महिलाहरूको सहभागिता रहेको थियो । सहभागीहरूलाई लोकसेवा आयोग सम्बन्धी आवश्यक विषयहरूमा प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ। महिलाहरूलाई आत्मनिर्भर, सक्षम र प्रतिस्पर्धी बनाउन यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ ।










