म्याग्दी जिल्लामा उत्पादित अर्गानिक बस्तुलाई जापानमा स्टलमा राखेर बिक्री वितरण तथा प्रर्दशनी गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले आयोजना गरेको दोस्रो म्याग्दी मोना ईताबासी नेपाल फेस्टिवलको अवसरमा जापानीज तथा नेपालीलाई म्याग्दीको रैथाने उत्पादनको स्वादका बारेमा जानकारी सहित बजार विस्तारमा समेत सघाउने गरी स्टल राखिएको हो ।

मोना ईताबासी नेपाल फेस्टिवलमा म्याग्दीको उत्पादन टिम्बुर,सिस्नुको धुलो, मह, भटमास,भाँगो, मह, घ्यु, फापरको पिठो लगायतका विभिन्न थरी उत्पादनलाई समेत बिक्री तथा वितरण भइरहेको मोना जापानका उपाध्यक्ष हिरा बुढाथोकीले बताउनुभयो । ‘म्याग्दीमा उत्पादन हुने टिम्बुर जापानमा प्रख्यात छ, जापानमा रहेका नेपालीलाई आर्कषित गर्न स्टलमार्फत प्रचारप्रसार भइरहेको छ’ उपाध्यक्ष बुढाथोकीले भन्नुभयो । उहाँका अनुसार मोना जापानले आयोजना गर्ने सार्वजनिक कार्यक्रमहरुमा म्याग्दीका उत्पादनको बजारीकरण सहित प्रर्वधनमा समेत सघाउने गरिएको छ ।

म्याग्दीको सदरमुकाम बेनी नगरपालिका–८,गणेशटोलमा प्रवासी म्याग्देलीको अगुवाईमा स्थापित मोना म्याग्दी डेभलपमेन्ट प्रालिले जिल्लाभित्र उत्पादन हुने अर्गानिक उत्पादन सङ्कलन, प्रशोधन, प्याकेजिङ गरी बिक्री गर्ने गरी स्थापित संकलन केन्द्रबाट फेस्टिवलमा लगेर बिक्री गरिएको मोना अन्तराष्ट्रि«यका उपाध्यक्ष राम खड्काले बताउनुभयो ।

उपाध्यक्ष खड्काले जापानमा म्याग्दीको उत्पादनलाई प्रर्वधनसहित म्याग्देलीले सञ्चालन गरेको मार्ट तथा पसलहरुमा बिक्री कक्ष बनाएर समेत बिक्रीका लागि सहज बनाउने योजना रहेको बताउनुभयो । ‘मोनाको फेस्टिबलमा म्याग्दीका उत्पादनका बारेमा प्रचारप्रसार भएको छ, नियमित बिक्री हुने मार्टहरुमा अर्डर समेत आउन थालेको छ’ सञ्चालक समेत रहनुभएका खड्काले भन्नुभयो ।
म्याग्दीको अर्गानिक उत्पादनलाई विश्वभर रहेका म्याग्देलीमार्फत बिक्री गरी किसानलाई समेत आर्थिक रुपमा आत्मनिर्भर बनाउने अभियानमा सघउने उदेश्यले स्थापित कम्पनीले विश्वभर उत्पादनलाई फैलाउने लक्ष्य सहित मोनामार्फत प्रर्बधनमा जुटेको छ ।
जापानमा धेरै म्याग्दीको टिम्बुरको माग छ । टोकियो सिन्जुकुस्थित सिन ओकुबामा रहेको कान्तिपुर मार्टमा टिम्बुरको माग अत्याधिक रहेको छ । टिमुरलाई भान्साका विभिन्न परिकारमा मसलाको रुपमा प्रयोग गरिन्छ। आर्युवेदिक गुणको उत्पादित टिमुर अब नेपालका भान्छामा मात्र सीमित नरहेर विश्वबजारमा समेत पुग्न थालेपछि उत्पादन र बिक्री समेत धेरै हुन्छ ।










