म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ ।
स्वदेश तथा विदेशका ठुला अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाट समेत रोग निको नभएपछि आजित भएका बिरामी लगायत पर्यटक प्राकृतिक चिकित्सालय तातोपानी कुण्डमा दैनिक स्नान गर्न आउनेको भीड लाग्ने गरेको छ ।
लौरो, आफन्तले बोकेर र ह्विलचेयरमा कुण्डसम्म पुगेर बिहान साढे ५ बजेदेखि साँझ ६ बजेसम्म स्नान गर्ने बिरामी दिनप्रतिदिन बढिरहेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताउनुभयो ।
उहाँका अनुसार, दैनिक करिब ११ सय महिला बिरामी र ४ सय पुरुषले स्नान गरेका छन्। न्यूनतम ५ देखि १५ दिनसम्म स्नान बिरामीको चाप बढेपछि महिला र पुरुषलाई कार्यतालिका बनाएर स्नान गर्ने व्यवस्था मिलाइएको छ ।
कुण्डमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्रिएको, मर्किएको, पेट दुख्ने, नसाको समस्या भएका बिरामीहरू धेरै कुण्डमा भेटिएका छन् ।
तातोपानीमा नुहाउने महिला र पुरुषका लागि नुहाउन छुट्टाछुट्टै समयतालिका बनाइएको छ । शरीरभरि फैलिएको घाउ, छाला पट्पटी फुटेर डरलाग्दो अवस्था, सडक दुर्घटनामा गम्भीर घाइते तथा चिकित्सककै सुझावमा कुण्डमा आउने बिरामीको अनुभवले पनि कुण्डले धेरै बिरामीको परिवारका खुशी थपेको छ ।
कुण्डमा डुब्न र स्नान गर्न म्याग्दीसहित बागलुङ, पर्वत, कास्की, चितवन, रूपन्देही, काठमाडौँलगायत देशका अधिकांश जिल्लाबाट बिरामी, सर्वसाधारण तथा पर्यटकका साथै भारतको सिक्किम र दार्जिलिङबाट समेत हरेक वर्ष आउने गरेकोमा ५० प्रतिशत बागलुङ जिल्लाबाट मात्रै आउने गरेका कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।
वीरेनून र गन्ध (सल्फर) तत्व सहितको ४५ देखि ५७ डिग्री सेल्सियस तातोपानी निस्कने मुहान रहेको छ । कुण्ड बाहेक पर्यटकलाई सहज हुने गरी बाहिर थप दुईवटा कुण्ड छन् ।
उपल्लो बजार क्षेत्रमा समेत कुण्ड विस्तार गरिएको छ । तातोपानी कुण्डले अहिले सानाठूला होटलमा थपिएको छ । कुण्डमा नुहाउन एक हप्ताका लागि तीनसय ५० रुपियाँको टिकटको व्यवस्था गरिएको छ। चाप बढेपछि कुण्डमा डुब्ने समय पनि २ घण्टाका दरले बढाइएको छ ।












