समुद्रपारिका अनुसार ….
टोकियोमा दुई दिवसीय मोना फेस्टिवल सम्पन्न भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा भएको दोस्रो मोना फेस्टिबलको शनिबार एक समारोहका बीच प्रमुख अतिथि जापानका लागि कार्यबाहक राजदूत हरिहरकान्त पौडेल लगायत विशेष अतिथिहरुले सामुहिक रुपमा रिबन काटेर उदघाटन गरिएको थियो ।

मोना जापानका अध्यक्ष गणेश श्रेष्ठको सभापत्विमा भएको उदघाटन समारोहमा मोना आइसीका अध्यक्ष मिम पुर्जा, एनआरएन आइसीसी उपाध्यक्ष ददिवल खड्का, एनआरएनए आइसीसी युवा संयोजक नविन निउरे, एनआरएन जापानका अध्यक्ष सुभाष लामिछाने लगायतले फेस्टिवल सफलताको शुभकामना ब्यक्त गरेका थिए । मोना जापानका महासचिव सुरेश पुनको सञ्चालन रहेको सो समारोहमा मोनाका वरिष्ठ उपाध्यक्ष टिका छन्त्यालको स्वागत मन्तब्य रहेको थियो ।

स्थानिय निकाय इताबासी नगरपालिकाको सहकार्य रहेको फेस्टिवल आचुका पार्कमा भएको हो । फेस्टिवलमा जापानमा रहेका दर्जनौ संघसंस्थाहरुको सहकार्य रहेको थियो । नेपाली खानाका परिकार, नेपालका पर्यटकीय गन्तब्यहरुको चिनारी, नेपाली गीत-संगीत, विभिन्न जातजाति एवं सम्प्रदायका वेशभूषा र कला सँस्कृतिमा आधारित साँगीतिक प्रस्तुतीले फेस्टिवलको रौनकता बढाएको थियो । फेस्टिवलका लागि नेपालबाट आमन्त्रित अतिथि कलाकार रवि कार्कीको दमदार साँगीतिक प्रस्तुतीमा दर्शक-स्रोताहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

फेस्टिवलको दुबै दिनमा दर्जनौ जापानी कलाकारहरुले जापानी कला र सँस्कृति उजागर हुने खालका उत्कृष्ट साँगीतिक प्रस्तुतीहरु राखेका थिए भने जापानकै एक पुरानो साँगीतिक ब्याण्ड ‘चौतारी’ को साँगीतिक प्रस्तुती फेस्टिवलको अर्को आकर्षण बनेको थियो ।

फेस्टिवलमा नेपाल मगर संघ जापानको साँगीतिक लाइभ प्रस्तुती अर्को आकर्षण र चर्चाको विषय बनेको थियो भने धौलागिरी भजन समुहको नृत्य सहितको लाइभ भजनले फेस्टिवलमा विशेष रौनकता थपेको थियो । यसैगरी तमु धीं जापान, गुरुङ समाज जापान, पुन क्लव जापान, तामाङ समाज जापानका कलाकारहरुको उत्कृष्ट एवं मौलिक प्रस्तुतीले नेपालकै कुनै मेलामहोत्सवको झझल्को दिलाएको थियो ।

यसैगरी आयोजक संस्था मोना जापानका कलाकारहरुको साँगीतिक प्रस्तुतीका साथै एभरेष्ट इन्टरनेशनल स्कुल, जापान, हिमालयन एन्टरनेशनल एक्याडेमी जपान, एशियन ब्रिज इन्टरनेशनल स्कुल जापानका विद्यार्थीहरुका साँगीतिक प्रस्तुतीले जापानमा हुर्कदैं गरेका नानीबाबुहरुलाई नेपाली कला र सँस्कृतिसंग अभ्यस्त हुन र नेपालसंग जोडिन प्रेरित गरेको थियो ।

फेस्टिवलको दोस्रो दिन ‘आँखैमा राख्छु मेरो देश, मुटुमा राख्छु मेरो देश’ बोलको राष्ट्रप्रेम गीतमा ४ वर्षीय इभा पौडेलको नृत्यले दर्शकदीर्घामा देशभक्ति भावना जगाएको आभास दिलाएको थियो ।
फेस्टिवलमा युको ओकामोतो, ऋतु थापा मगर, नरेश महर्जन, परदेशी गायक सूर्य खड्का, समिना खड्का लोहनी, घुम्टे नौमती पञ्चे बाजा, देउराली पञ्चे बाजा लगायतका साँगीतिक समुह तथा कलाकारहरुको विशेष प्रस्तुती रहेको थियो ।

फेस्टिवलको दुबै दिन आयोजक संस्था मोना तथा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जापान शाखाका कलाकारहरुले संयुक्त रुपमा केही पुराना लोक भाकाहरु प्रस्तुत गर्नुका साथै घम्साघम्सी दोहोरी गाएर यथेष्ट मनोरञ्जन प्रदान गरेका थिए ।

फेस्टिवलमा नेपाली राजदूतावासको हेल्प डेस्क, टोकियो महानगरिय प्रहरीको विदेशी लक्षित उपयोगीमुलक सामग्री वितरण कक्ष रहेका थिए । जहाँबाट फेस्टिवलका अवलोकनकर्ताहरुले प्रत्यक्ष लाभ लिएका थिए । फेस्टिवलको दुबै दिन उत्साहजनक नेपाली तथा जापानीहरुको उपस्थिति रहेको आयोजक संस्था मोना जापानको दाबी रहेको छ ।

फेस्टिवल जि एण्ड के कम्पनीका प्रवन्ध निर्देशक समेत रहेका एनआरएन आइसीसीका उपाध्यक्ष ददिवल खड्काको प्रमुख प्रायोजन र येहे रेमिट्यान्सको इभेन्ट पार्टनरशिपमा सम्पन्न भएको मोना जापान स्रोतले जनाएको छ ।
दुई दिवसीय मोना फेस्टिवलको अन्तमा फेस्टिवल संयोजक ज्ञानेन्द्र केसीले फेस्टिवल सफल पार्न सहयोग गर्ने सबैप्रति धन्यबाद ज्ञापन गर्दै फेस्टिवलको औपचारिकरुपमा समापन गरेका थिए । https://samudra-pari.com/










