हरिकृष्ण गौतम
पर्वत जिल्लाको जलजला गाउँपालिकामा पहिलोपटक जलजला उद्यम प्रर्वद्धन मेलाको आयोजना गरिएको छ ।गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाको साझेदारीमा दायित्व संस्था मार्फत सञ्चालित वृद्धिमुखी उद्यमशिलता तथा रोजगारी प्रर्वद्धन कार्यक्रम अन्तर्गत सोमबारदेखि जलजला गाउँपालिका–४ मोहनचोक स्थित टपरी एग्रो परिसरमा आयोजित उद्यम प्रर्वद्धन मेलामा उत्कृष्ट ११ उद्यमीको स्टल राखिएको छ ।
स्थानीय उत्पादन, उद्यमशीलता विकास तथा रोजगारीका अवसरहरूको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा जलजला गाउँपालिका भित्र उत्पादन हुने रैथाने बाली सहित धौलागिरीको मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत जिल्लामा महिला उद्यमीले उत्पादन गरेका हस्तकलाका साम्रागी सहित बस्तुहरु बिक्री तथा प्रर्दशनीमा राखिएको छ ।

महिलालाई घरायसी काममा मात्रै नभई उत्पादनमुखी क्षेत्रमा समेत लगाउने उदेश्यले उद्यमीलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय,जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम अन्तर्गत गतबर्ष जलजलाका नौ वटै वडाबाट १५४ जना उद्यमीहरुले आवेदन दिएकोमध्ये उद्यमीको उदेश्य, सोच, वित्तिय अवस्था, नवप्रवद्र्धन, उद्यमको वर्तमान अवस्था, व्यवसायिक योजना, बजारको अवस्था,उद्यमीको सामाजिक प्रभाब लगायतको सूचकका आधारमा चालिस जना उद्यमी छनौट गरी सम्मान गरिएको थियो । प्रर्दशनीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम लगायतको उपस्थिती रहेको थियो।

उत्कृष्ट उद्यमीबाट २० जना हुदै अहिले ११ जनाले स्टलमा आफ्नो उत्पादनलाई बिक्री गरेको उद्यमी जमुना आचार्यले बताउनुभयो । उद्यम प्रर्वद्धन मेलामा जलजला गाउँपालिकाभित्र उत्पादित च्याउ सहित आउनुभएकी सावित्री खत्रीले गाउँपालिकाले महिला उद्यमीलाई प्रोत्साहनका लागि गरेका कार्यहरुबाट उत्साहित भएको बताउनुभयो ।

गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र दायित्व संस्था तथा सम्बन्धीत पालिकाको सहकार्यमा भएको कार्यबाट उत्कृष्ट उद्यमीमार्फत समुदायस्तरमा समेत विभिन्न कार्यहरु गर्ने योजना बनाइएको छ ।

उत्कृष्ट उद्यमी बनाउन जलजला गाउँपालिकामा प्रदेश सरकारको ४० लाख, जलजला गापाको २० लाख र र दायित्व संस्थाको १५ लाख बजेटबाट उद्यम प्रवद्र्धनले रोजगारी सिर्जनमा टेवा पु¥याएको छ । गाउँपालिकामा उद्यमीहरुलाई व्यवसायिक योजना बनाएर उत्पादन बढाउन र व्यवसायिक क्षेत्र विस्तारमा सघाइरहेको गाउँपालिकलो आगामी दिनमा समेत उद्यमीहरुको हाटबजारलाई ब्यवस्थित गर्ने जनाएको छ ।













