हरिकृष्ण गौतम
पश्चिम म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अन्तरगत पर्ने तोलाबाङदेखि दरवाङ जोड्ने सडक अलपत्र परेपछि दरबाङका संघसंस्था आन्दोलित भएका छन् । बेनी–दरवाङ सडकको मालिका गाउँपालिका–६ तोलाबाङदेखि दरवाङ जोड्ने सडक स्तरोन्नतिको काम रोकेर निर्माण कम्पनी सम्पर्कविहिन भएपछि पश्चिम म्याग्दी दरबाङ यूथ क्लवको नेतृत्वमा दबाबमुलक कार्यक्रम सुरु भएको छ ।

सडक अलपत्र हुदाँ सवारीसाधन तथा पैदलयात्री, विद्यार्थीले धुलाम्मे सडकमा यात्रा गर्न बाध्य भएपछि क्लवको अगुवाईमा ७ वटा टोलविकास संस्था, संस्थागत तथा सामुदायिक विद्यालय लगायत सरोकारवाला निकायले जिल्ला प्रशासन कार्यालयमा ध्यानार्कषण सहित ज्ञापनपत्र बुझाएको हो । सोमबार प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यलाई ज्ञापनपत्र बुझाउँदै तत्काल निर्माण कम्पनीलाई अपुरो सडकलाई पूर्णता दिन अनुरोध गरिएको पश्चिम म्याग्दी दरबाङ यूथ क्लवका अध्यक्ष नगेन्द्र मल्लले बताउनुभयो ।

‘सडक अलपत्र छोडेर निर्माण कम्पनी सम्पर्कविहिन भएका छन्, अब बाटो सम्पन्न नहुदाँसम्म चरणबद्ध आन्दोलनमा गछौ ।’ क्लवले लोकेन्द्र पुनको नेतृत्वमा दबाबमुलक कार्यक्रमको संयोजन समेत गरेको छ ।ज्ञापनपत्र बुझदै प्रजिअ आचार्यले निर्माण कम्पनीलाई ताकेता गरिएको बताउनुभयो । म्याग्दी जिल्लामा अलपत्र रहेका सडकलाई पूर्णता दिन अनुगमन तथा निर्माण पक्षलाई लिखित सहमति समेत गराइएको समेत प्रजिअ आचार्यको भनाई छ ।
विसं २०७६ जेठ ३१ गते निर्माण कम्पनी बिरुवा–क्याराभान र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको थियो । विसं २०७८ जेठमा सकिनुपर्ने योजनाको हालसम्म भौतिक प्रगति ८७ प्रतिशत रहेको छ । यस सडकका निर्माण ब्यवसायीले प्रतिबद्धता जनाएपनि अहिलेसम्म पूरा गरेका छैनन् ।
मालिकाको केन्द्र दरवाङ जोड्ने सडक स्तरोन्नति दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित छ वर्षअघि आयोजना सुरु भएको थियो । गत असार महिनायता सडक निर्माणको काम भएको छैन । यही चैत महिनासम्म ठेक्काको म्याद रहेको योजनाका ठेकेदारलाई काममा फर्कन लिखित र मौखिक रूपमा गरिएको अनुरोधलाई बेवास्ता भएको छ ।
मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किमी दूरीको बेनी–दरवाङ सडक विसं २०६३ मा मार्ग खुलेको थियो । निर्माणस्थलमा काम गरेका मजदुरले समेत समयमै ज्याला नपाएको भन्दै आन्दोलन समेत गरेका थिए । पश्चिम म्याग्दीका यूवाहरुले नै आन्दोलन सुरु गरेपछि सरोकारवाला निकाय समेत दबाबमा परेका छन् ।









