मंगला गाउँपालीका १ कुहुँका दुर्गाबहादुर लाम्गादेको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको छ ।परोपकारी संस्था ओमकुमारी शान्ति कोषले शनिबार बेनीमा पत्रकार भेटघाट मार्फत  नाकभित्र मासु पलाएर थलीएका ६४ वर्षिय लाम्गादेको उपचारका लागि सहयोग संकलन अभियान सुरु गरेको जानकारी गराएको हो । नाकभित्र मासु पलाएर त्यसको असरले दायाँ आखाको ज्योती गुमाएका लाम्गादेको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भैरहेको छ ।

घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि सहयोग संकलन अभियान सञ्चालन गरिएको कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । तिन महिनाअघि नाकबाट सास फेर्न गाहे भएपछि स्वास्थ्य परिक्षण गराउँदा उनलाई क्यान्सर भएको पहिचान भएको थियो ।

पहिलो पटक किमो समेत चढाई सकिएको लाम्गादेकी श्रीमती सरस्वतीले बताउनुभयो । उपचारका लागि सहयोग गरेर श्रीमानको जिवन बचाईदिन सरस्वतीले अपिल गर्नुभएको छ । लाम्गादेका दुई छोरा र तिन छोरी छन् । उनिहरु गाउँमै खेती किसानी गरेर जिविकोपार्जन गर्दै आएका थिए ।

शान्ति कोषले आजिवन सदस्य भोजबहादुर रिजालको संयोजकत्वमा दुर्गाबहादुर बचाउ अभियानका लागि उपसमिति गठन गरेको छ । उपसमितिका संयोजक रिजालले पाँच हजार, कोषका अध्यक्ष राजेश शाक्यले पाँच हजार, संस्थापक अध्यक्ष चन्द्रकुमार केसीले पाँच हजार, सचिव लोकेश पुनले दुई हजार पाँच सय, सदस्य नन्दु पाईजाले दुई हजार पाँच सय सहयोगको घोषणा गर्नुभएको छ । हाल बहराईनमा रहनुभएका मंगला गाउँपालीका ५ अर्मनका तारा क्षेत्रीले तिन हजार पाँच सय र बेनपा ७ मंगलाघाटका लक्ष्मण कटुवालले एक हजार पाँच सय रुपैया कार्यक्रमका अवसरमा हस्तान्तरण गर्नुभएको थियो ।