---Advertisement---

म्याग्दीका क्रियाशील पत्रकार जिसी सम्मानित

On: June 3, 2023 10:07 PM
Follow Us:

म्याग्दीका क्रियाशील पत्रकार कृष्णबहादुर जिसी सम्मानित भएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले पत्रकार जिसीलाई सम्मान गरेको हो ।

प्रेस चौतारी म्याग्दीको हिजो (शनिवार) बेनीमा सम्पन्न १८औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रमको अवसरमा प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार–२०७९ बाट पत्रकार जिसीलाई नगद पाँच हजार पाँचसय ५५ रुपयाँ र सम्मानपत्रको साथमा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

जिसीलाई कार्यक्रमका प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, विशिष्ट अतिथि नेकपा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर केसी र प्रेस चौतारी म्याग्दी शाखाका अध्यक्ष प्रताप बानियाँले अबिरको टिका र फुलको माला लगाएर दोसल्ला ओढाई नगद तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको प्रेस चौतारी म्याग्दीले जनाएको छ ।

पर्वतको जलजला गाउँपालिका निवासी जिसीले २०६१ सालमा धौलागिरि एफएम बागलुङबाट रेडियो पत्रकारिता सुरु गरेका थिए ।

प्रेस चौतारी म्याग्दी शाखाको संस्थापक सदस्य समेत रहेका पत्रकार जिसी हाल नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको कार्यसमिति सदस्य रहेका छन्भने जलजला अनलाइन डटकमको सञ्चालक तथा सम्पादक एवं हिमालयन टेलिभिजन म्याग्दीको जिल्ला संवाददाता हुन् । उनी पर्वतवासी भए पनि म्याग्दीलाई कार्यक्षेत्र बनाएर विगतदेखि नै हालसम्म पत्रकारिता, शैक्षिक र सामाजिक क्षेत्रमा क्रियाशील छन् ।