पोखरेबगरमा ग्लोबल आईएमई बैंक बेनीको निःशुल्क स्वास्थ्य शिविर

ग्लोबल आईएमई बैंकको १७औं वार्षिकोत्सवको अवसरमा आयोजित स्वास्थ्यस्थानीय महिलाहरु लाभान्वित भएका छन्। नेपाल परिवार नियोजन संघ बागलुङ शाखाको आयोजना, ग्लोबल आईएमई बैंकको आर्थिक सहयोग र अन्नपूर्ण गाउँपालिका म्याग्दीको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा सञ्चालित स्वास्थ्य शिविरबाट १ सय ५६ जनाभन्दा बढी महिलाहरु लाभान्वित भएको ग्लोबल आईएमई बैंक बेनी शाखा म्याग्दीका प्रवन्धक शोकेन्द्र थापा मगरले बताए । उनका अनुसार ग्लोबल आईएमई बैंकको १७औं वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ नारी पहल’ कार्यक्रमअन्तर्गत निःशुल्क स्त्रीरोग तथा महिला प्रजनन् स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

उक्त शिविरमा स्त्रीरोग, पाठेघरको मुखको क्यान्सर जाँच (भिआईए परीक्षण), यौनरोग पहिचान तथा उपचार र महिलाको आङ खस्नेलगायत स्वास्थ्य समस्याहरुको पहिचान गरी उपचार तथा परामर्श सेवा उपलब्ध गराइएको बेनी शाखा प्रवन्धक थापाले जानकारी दिए । पोखरेबगर आधारभूत विद्यालयको प्राङ्गणमा सञ्चालित स्वास्थ्य शिविरको नेपाल परिवार नियोजन संघ बागलुङका अध्यक्ष निर्माणकुमार श्रेष्ठको अध्यक्षता र ग्लोबल आईएमई बैंक बागलुङ शाखा प्रमुख हेमराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनको प्रमुख आतिथ्य रहेको कार्यक्रममा ग्लोबल आईएमई बैंक गण्डकी प्रदेशका प्रमुख ईश्वरीप्रसाद जोशीले मन्तव्य व्यक्त गरेका थिए । शिविरको डाक्टर तथा स्वास्थ्यकर्मीसहितको टोलीले उपचार एवं परामर्श सेवा उपलब्ध गराएको थियो ।