धौलागिरी हिमालमा बेपत्ता रुसी आरोही खोज्न पुगेका थिए क्याप्टेन गौचन

धौलागिरी हिमालको आरोहणको क्रममा आइतबार देखि हराइरहेका पाँच रुसी पर्वतारोहीको खोज तथा उद्धारका लागि प्रभु हेलिकप्टरका क्याप्टेन सोबित गौचनले घटनास्थल निकै अठ्यारो र भिरालो भएको बताएका छन् । मंगलबार क्याप्टेन गौचनले ९ एन–एनएलको हेलिकप्टरमा कम्पनीमा प्रतिनिधि सहित पुगेका थिए ।

उनले ७ हजार फिट उचाइसम्म पुगेर बेपत्ता भएका आरोहीको खोजी गरेको बताए । ‘शबको निकै नजिक पुगेर संख्या पहिचान गरेका थियौं, शब भेटिएको ठाउँ निकै जोखिमपूर्ण छ, त्यहाँ ल्याण्ड गर्न सकिने अवस्था नभएपछि फर्किए’ क्याप्टेन गौचनले बेनीअनलाइनलाई भने ।

मंगलबार विहान ७ बजेदेखि १० बजेसम्म खोज तथा उद्धारमा सक्रिय भएर ११ बजे काठमाण्डौ फर्किएका थिए । उनले आरोहीको अवस्थाबारे खोजतलासका लागि माथिल्लो क्षेत्रमा पुग्दा शब देखिएपछि नजिक पुगेर हेरेको बताए ।

मृतक आरोहीसँगै पुगेका भालेरी शामालोलाई फस्ट क्याम्पबाट उद्धार गरी काठमाडौँ लगिएका उनी चौथो क्याम्पमा पुगेपछि माथि जान नसक्ने अवस्था भएपछि तल आएर क्याम्पमा बसेका थिए ।

‘उनीहरुकै टोलीका एकजनालाई क्याम्पबाटै उद्धार गरी काठमाण्डौ ल्याएका छौ,‘त्यहाँको अवस्थाका बारेमा सम्बन्धित निकायलाई जानकारी गराइसकेको छु, धेरैपटक यहाँ पुगेकाले आरोहीको रुट पहिचानमा सहज भयो’ क्याप्टेन गौचनले भने ।

टोलीका अन्य सदस्य अलपत्र वा जोखिममा रहेको अवस्थाका बारेमा सबैतिर खोजी गरेपछि थप खोज तथा उद्धारको तयारी सहित टोली फर्किएको थियो । क्नेपालको पहिलो सगरमाथा आरोहण गर्ने पहिलो क्याप्टेन समेत रहेका गौचन कम्पनीबाट हिमाल तथा जोखिमपूर्ण खोज तथा उद्धारमा धेरै खटिने गर्दछन् । उनका धेरैजसो उडानहरु विभिन्न हिमालको बेसक्याम्पहरु हुन्छन् । क्याप्टेन गौचन बेनी नगरपालिका वडा नं ८ शिक्षामार्ग निवासी हुन् ।

म्याग्दीको धवलागिरी गाउँपालिका–४,मुदीमा अवस्थित हिमालको हाई क्याप आधार शिविरबाट आइतबार देखि हराएका आरोहीहरूको शव ७ हजार १ सय मिटरको उचाइमा भेटिएको हो ।

आइ एम टे«कीङ एण्ड एक्सपीडिसन मार्फत धौलागिरि आरोहणका लागि आएका रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको छ ।

आरोहीको टोली हाई क्यापबाट माथिल्लो क्षेत्रमा जाने क्रममाआइतबार दिउँसो ११ बजेदेखि सम्पर्कविहिन भएका थिए । यो स्थान आरोहणको अन्तिम विन्दु पुग्न सबैभन्दा जोखिम बिन्दु मानिन्छ । ८,१६७ मिटर अग्लो धवलागिरि हिमाल विश्वकै सातौ अग्लो पर्छ ।

* हिमालको तस्वीरमा रातो लगाएको स्थानमा शब भेटिएको थियो ।